काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले शुक्रबार ट्रमा सेन्टरका चिकित्सक माथि कुटपिट गर्ने प्रहरीलाई कारबाही गर्नुको साथै राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमा माग्नु पर्ने धारणा राख्नुभएको छ ।
आफ्नो फेसबुक पेजमा चिकित्सक कुटपिट गर्ने माथि तत्काल कार्बाही गरियोस साथै सम्माननिय राष्ट्रपतिद्वारा क्षमा मागियोस भनेर स्टाटस लेख्नुभएको छ ।
त्यसैगरी उहाँले लेखेको स्टाटसमा "सम्माननिय राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसदको संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटो हिडेको भन्दै बाटोमा हिंड्दै गरेका ट्रमा सेन्टरका चिकित्सकलाई प्रहरीले निर्घात कुटपिट गरि सिकिस्त बनाएको घटनाले हामी मर्माहित भएका छौ । यो प्रजातान्त्रिक मुलुकमा बाटोमा हिँडेका आमनागरिकलाई कुटपिट गर्नु र त्यसमाथि अति संबेदनसिल मानिएका चिकित्सकलाई नै कुटपिट गर्नु यो घोर आपतीजन्य निन्दनिय कार्य हो ।
सम्माननिय राष्ट्रपतिलाई सम्मान दिनु पर्छ तर जनतालाई सास्ती दिएर गरेको सम्मानको अर्थ के ? हामी नै सर्वेसर्वा हो भन्ने दम्भको अब अन्त हुन जरूरी छ । चिकित्सक माथिको कुटपिट तथा अपमानको घोर निन्दा र भत्सर्ना गर्दछु । साथै सम्माननिय राष्ट्रपतिले यो बिषयमा चिकित्सकसंग माफी माग्न हार्दिक अनुरोध गर्दछु ।"
हिँजो राष्ट्रपति विद्यादेवी भण्डरी संघीय संसदको दुवै सदनमा सम्बोधन गरेर फर्कनेक्रममा सुरक्षाकर्मीले भिड नियन्त्रण गर्ने बहानामा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथ सिंहलाई लाठी प्रहार गर्दा उहाँ घाईते हुनुभएको थियोे । लाठी प्रहराबाट डा. सिंहको टाउकोमा गम्भीर चोट लागेको छ ।
घाइते भएका डा. सिंह हाडजोर्नी तथा नसाको क्यान्सर रोगका नेपालकै उत्कृष्ट चिकित्सक मानिनु हुन्छ। वरिष्ठ चिकित्सकमाथि लाठी प्रहार भएपछि तत्काल ट्रमा सेन्टर र छेउँमै रहेको वीर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी सेवा ठप्प पारेर आन्दोलित भएका थिए ।
हिँजो दिउँसो राष्ट्रपति भण्डारी संघीय संसद्मा सम्बोधन गर्न नयाँ बानेश्वर पुग्नुभएको थियो । साँझ शीतलनिवास फर्किंदा वीर अस्पताल अगाडिको बाटो प्रयोग गर्दा यो घटना भएको हो ।