काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु ८२ लाख बराबरको बियर बरामद गरेको छ ।
मङ्गलबार र बुधबार बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका (डेट एक्स्पायर) करिब दुई हजार सात सय ५७ कार्टुन बियर बरामद गरेको हो ।
दुई दिनको बजार अनुगमनका क्रममा विभागले उपभोग्य मिति सकिएका बियर बरामद गरेको जनाएको छ ।
बजार अनुगमनका क्रममा बाह्रसिङ्गे, टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर बरामद गरिएको विभागका महानिर्देशक महेश भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार मङ्गलबार काठमाडौँको धुम्बाराहीस्थित याक ब्ररुअरी कम्पनीको डिलर क्लाइमेक्स ट्रेडिङ कम्पनीका तीन वटा गोदममा भण्डारण गरिएको २१ सय कार्टुन बियर नियन्त्रणमा लिइएको थियो ।
यस्तै, बुधबार सिनामङ्गलमा रहेको संस्कार टे«डर्स प्रालिले गौह्रिगाउँस्थित गोदाममा भण्डारण गरेको तीन सय ५५ कार्टुन बियर बरामद गरेको थियोे ।
उपभोग्य अवधि सकिएका टुवोर्ग, मुस्ताङ, काल्सवर्ग, नेपाल आइस, बडवाइजर र गोर्खा ब्राण्डका बियर रहेको विभागले जनाएको छ ।
यस्तैगरी, बुधबार नै विभागले सिनामङ्गलकै सिके ट्रेडिङ प्रालिको गोदाममा भण्डारण गरिएका उपभोग्य मिति सकिएका टुवोर्ग, सानमिगेल, गोर्खा प्रिमियर, काल्सवर्ग ब्राण्डका तीन सय दुई कार्टुन बियर बरामद गरिएको महानिर्देशक भट्टराईले जानकारी दिनुभयो ।
विभागले भोजभत्तेर तथा कतिपय रात्रिकालीन रेष्टुरेण्ट व्यवसायमा उक्त किसिमका उपभोग्य अवधि सकिएका (गुणस्तरहीन) बियरलगायत अन्य हल्का पेयपदार्थको कारोबार हुनसक्ने भन्दै सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ ।
‘आम उपभोक्तालाई समेत त्यस किसिमका कार्यक्रममा हुनसक्ने गुणस्तरहीन वस्तुको बिक्रीवितरण तथा उपभोगतर्फ विशेष चनाखो रहनहुन र कहीँकतै त्यसको बिक्री वितरण गरिएको थाहा हुन आएमा विभागमा जानकारी गराउन अनुरोध गरिन्छ’, विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यस्तैगरी, विभागले वस्तुको अनैतिक कारोबार भएको थाहा पाएमा टोल फ्रि नं ११३७ वा अनलाइन उजुरी तथा गुनासो पोर्टलमा गई उजुरी गर्नसमेत अनुरोध गरेको छ ।