रबिन्द्र यादव, नवलपरासी पश्चिम । प्रतापपुर गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थ्यका लागी खेलकुद, राष्ट्रका लागी खेलकुद भन्ने मूल नाराका साथ प्रतापपुर गाउँपालिका वडा नं. ९ स्थित बेलाटारी स्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा बिहीबारबाट सञ्चालित प्रथम प्रतापपुर गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिवार बृहत् समापन समारोह कार्यक्रम गरी सम्पन्न भएको हो ।
सबै खेलमा उत्कृष्ट प्रदर्शन गर्दै त्रिभुवन नमुना मावि बेलाटारीले प्रथमको उपाधि हात पार्न सफल भएको हो । गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको दोस्रो उपाधि महेन्द्र मावि सोमनीले हात पारेको छ भने तेस्रो उपाधि गणेश मावि बसहियाले हात पार्न सफल भएको हो । उत्कृष्ट खेलाडीहरूलाई मेडल,प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगितामा गाउँपालिकाका ६ वटा सामुदायिक, ५ वटा संस्थागत र एक वटा धार्मिक गरी १२ वटा माध्यमिक विद्यालयहरू सहभागी थिए ।
समापन समारोह कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका संयोजक भगवती प्रसाद (रुदल) यादवले विजयी खेलाडी विद्यार्थीलाई बधाई तथा थप सफलताको शुभकामना दिनु हुँदै स्थानीय स्तरमा रहेका खेलाडीको क्षमता अभिवृद्धिका लागि गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जिल्लाको सात वटै पालिकामा सञ्चालन गरिने बताउनुभयो ।
उक्त खेलकुद प्रतियोगितामा भलिबल, कबड्डी एथ्लेटीक्स तर्फ, हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, सटपुट, र ट्रयाक तर्फ एक सय मिटर, दुई सय मिटर, चार सय मिटर, आठ सय मिटर, पन्ध्र सय मिटर र तीन हजार मिटर लगायतका खेलहरू सञ्चालन भएको प्रतापपुर गाउँपालिकाले जनाएको छ ।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द यादवको अध्यक्षतामा समापन भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक भगवती प्रसाद यादव ( रुदल) को प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, जनप्रतिनिधिहरू, बिभिन्न राजनितीक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी लगाएतको सहभागिता रहेको थियो ।
खेललाई सफल बनाउन सहयोग गर्नुहुने गाउँपालिका परिवार, शिक्षा, युवा तथा खेलकुद शाखा, खेल सञ्चालक समिति, जिल्ला खेलकुद विकास समिति, खेलप्रशिक्षकहरू, सहभागी विद्यालयहरू, खेलाडी विद्यार्थी, आमन्त्रित तथा उपस्थित अतिथिगण, पत्रकार, त्रिभुवन नमुना मावि परिवार सबैलाई प्रतापपुर गाउँपालिका अध्यक्ष उमेश चन्द यादवले धन्यवाद दिनुभयो ।
खेलाडीहरूले राष्ट्रको छवि उच्च बनाउन महत्त्वपूर्ण योगदान र भूमिका निर्वाह गर्न सक्ने भनेर नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निर्देशिका २०७० बमोजिम देशभित्रका सम्पूर्ण स्थानीय तह, प्रदेश र संघियस्तर उक्त खेलकुद प्रतियोगिता ल्याएको हो । स्थानीय तहले चैत मसान्तसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसक्नुपर्ने हुन्छ ।