नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले डुबानको समस्यालाई ध्यान दिएर साना–ठूला सबै नाला सफाइ गर्न थालेको छ ।
पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूला नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट)बाट सफाइको काम थालिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाका इञ्जीनियर निवेशकुमार शर्माले अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ–जहाँ अवरोध छ, त्यसमा राम्रोसँग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरिएको बताउनुभयो ।
“बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम विन्दुबाट काम थालेका छौँ, जेसिबीले सफाइ गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाइ गरिने छ”, उहाँले भन्नुभयो ।
भेरी प्राविधिक शिक्षालय भएर बग्ने नालाको अन्तिम विन्दुमा भइरहेको सफाइको नगरप्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृृत शिवप्रसाद रिजाल र इञ्जीनियर शर्माले जानकारी समेत लिनुभएको थियो ।
नगरप्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिकाको मुख्य समस्याको रूपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नालाको आउटलेट सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि काम सुरु गरिएको बताउनुभयो ।
“सहरको करिब ७० प्रतिशत पानी बग्ने मुख्य नाला सफाइ मुख्य प्राथमिकतामा राखेका छौँ, यहाँबाट (अन्तिम विन्दु) भेरी प्राविधिक शिक्षालयसम्म र बजार क्षेत्रमा कर्णाली विकास बैंक छेउँसम्म राम्रोसँग सफा गर्न सकियो भने पानीको सहज निकास हुन्छ”, विष्ट भन्नुहुन्छ ।
उहाँले उपमहानगरपालिकाभित्र ड्रेनेजको पर्याप्त नेटवर्क भए पनि सहजरूपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताउनुभयो ।
नालाको आधाभन्दा बढी भाग माटोले पुरिएको अवस्थामा पाइएको जानकारी दिँदै उहाँले कतिपय ठाउँमा जेसिवी प्रयोग गर्न सकिने अवस्था नरहेकाले कतिपय ठाउँमा मान्छे नै लगाएर सफाइ गरिरहेको बताउनुभयो ।
विगतमा बजारको वरिपरिमात्रै सफाइ गर्ने काम हुँदा समस्या समाधान नभएकाले यसपटक अन्तिम विन्दुबाट आमरूपमा सफाइ थालेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरले बर्सेनि नाला सफाइ गर्दै आएको छ ।
पहिलो चरणमा ठूला नाला र दोस्रो चरणमा साना नाला सफाइ गरिँदा नेपालगन्ज डुबान हुनबाट जोगिने नगरप्रमुख विष्टको विश्वास छ । एक महिनामा सफाइ सक्ने गरी काम अघि बढाइएको बताइएको छ ।
सरसफाइका क्रममा कर्णाली विकास बैंक क्षेत्र वरपरको नाला र भेरी प्राविधिक शिक्षालय तलतिरको नाला स्थलगत हेर्दा धेरै ठाउँमा माटोले पुरिएको, झाडी नै देखिएको र कतिपय ठाउँमा बयरका घारीसमेत उम्रिएको पाइएको छ ।