दाङ । तुलसीपुर उपमहानगरपालिका–१९ मा रहेको छिल्लीकोट हावापानी, घुमफिर र पर्यावरणीय दृष्टिकोणले निकै सुन्दर ठाउँ हो । यो ठाउँ ऐतिहासिक र धार्मिकरुपले परिचित छ । तुलसीपुरको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको छिल्लीकोट घुम्न जानेको सङ्ख्या पछिल्लो समय बढ्दो क्रममा छ ।
छिल्लीकोटका राजा मेघनाथ शाहका पालामा बाइसेचौबिसे राज्य हुँदा शासन गरेको तीन जिल्लाको मालअड्डाका रुपमा यो क्षेत्रलाई चिनिन्छ । धार्मिक हिसाबले शिव पत्नी सतीदेविको कुम पतन भएको पीठका रुपमा पनि छिल्लीकोट चिनिँदै आएको छ । यहाँ रहेका मालिका र कालिका मन्दिर एतिहासिक महत्वका छन् ।
छिल्लीकोटको अर्को विशेषता भनेको मालागेडीको वन पनि हो । विश्वकै दुर्लभ वनस्पति (सुगन्धकोकिला)को वनका रुपमा पनि छिल्लीकोट प्रख्यात छ । सयौँ प्रजातिका चराको बासस्थान तथा हजारौँ जडीबुटीसहितका वनस्पति यहाँ पाइन्छ ।
मालागेडीको जडीबुटी उत्पादन केन्द्र मानिएको छिल्लीकोट घुम्न र होमस्टेमा रात बिताउँदै स्थानीय कला, संस्कृति बुझ्ने, स्थानीय परिकार खाने पनि बढ्दै गएको होमस्टे सञ्चालक समितिका अध्यक्ष परवीर पुनमगरले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मल्लागिरी सामुदायिक होमस्टे ग्राम छिल्लीकोट नाममा स्थानीय सातघर मिलेर होमस्टे सञ्चालन गरेका छौँ ।” घोराही–तुलसीपुर सडकखण्डको दुधरासबाट छिल्लीकोट पुग्न सवारीसाधनमा आधा घन्टा लाग्छ ।
त्यहाँ रहेको भ्यूटावरबाट टाढासम्म दृश्यावलोकन गर्न सकिने तथा चिसो हावामा वातावरणसँग घुलमिल गर्दा आनन्द आउने हुँदा आगन्तुक आउने गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।
छिल्लीकोट घुम्ने पर्यटकको सङ्ख्या धेरै भएपछि स्थानीयवासीको प्रयासमा विसं २०७६ देखि औपचारिकरुपमा मल्लागिरी सामुदायिक होमस्टे ग्राम दर्ता गरेर सञ्चालन गरिएको उहाँले बताउनुभयोे ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाले होमस्टे सञ्चालकलाई तालिम दिनाका साथै जिन्सी सामग्रीमा पनि सहयोग गरेको छ । घुमफिर गर्न, स्थानीय परिकारको स्वाद लिन शुक्रबार र शनिबार होमस्टेमा पर्यटक पुग्ने गरेको होमस्टे सञ्चालन समितिका सहसचिव जीवराज रेउलेले बताउनुभयो ।
“एउटा घरमा कम्तीमा आठ जनालाई खाने र सुत्ने व्यवस्था गरिएको छ । यहाँ आउने पर्यटकलाई स्थानीयस्तरमा उत्पादित खाना खुवाउने गरेका छौँ”, उहाँले भन्नुभयो, “स्थानीयरुपमा उत्पादित कोदो, मकै र जौको ढिँडो, सिस्नो, रोटी, मह, लोकल कुखुराको मासु खान पाइन्छ ।” दुई छाक खाना, बिहानको नास्ता, एक रात सुतेको एक जनाले रु एक हजार मात्रै तिरे पुग्ने सहसचिव रेउलेले जानकारी दिनुभयो ।
अहिले सामुदायिक होमस्टे ग्राममा सात घर दर्ता भएका छन् । बाँकी तीन घर दर्ताको प्रक्रियामा छन् । कालिका मालिका टोलविकास संस्थाका अध्यक्ष पलबहादुर खड्काले भन्नुभयो, “दूधरास, सक्राम, छिल्लीकोट हुँदै होलेरीसम्मको सडक विस्तार हुनसके छिल्लीकोटको विकास छिटै हुनेछ ।” स्थानीयरुपमा उत्पादन हुने हरेक वस्तु आफैँमा मौलिक रहेको हुँदा यसको बजारीकरणका लागि सडकको सहज पहुँच नै अहिलेको आवश्यकता रहेको उहाँको धारणा थियो ।
मगर संस्कार, संस्कृति र रहनसहनको संरक्षण गरी पुराना कलासंस्कृतिको जगेर्ना गर्न होमस्टेले सघाउ पुर्याउने अध्यक्ष खड्काले उल्लेख गर्नुभयो । यसका लागि आगामी दिन थप पूर्वाधारको विकास गरेर अझ व्यवस्थित गर्दै छिल्लीकोट आउने आगन्तुक बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
तुलसीपुर–१९ का वडाध्यक्ष प्रेमनाथ योगीले छिल्लीकोटको विकासका लागि पछिल्लो समय थुप्रै काम भएको र सहज खानेपानी, विद्युतीकरणसँगै सञ्चारको पहुँच पनि पुर्याइएको बताउनुभयो ।
स्थानीयवासीको सक्रियतालाई साथ दिँदै उपमहानगरले छिल्लीकोटलाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउन पहल गर्दै आएको छ । स्थानीय तहको सीमित स्रोतसाधन पर्याप्त नभएको उहाँको भनाइ थियो ।
सङ्घ र प्रदेश सरकारको सहयोग भएमा केबलकार सञ्चालन गर्न सकिने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयस्तरबाट गर्नसक्ने काम गरिरहेका छौँ, त्यो पर्याप्त छैन । गर्नुपर्ने काम धेरै छन् ।”
यो स्थानको विकासका लागि तीनवटै सरकारको सहयोग आवश्यक छ । यहाँसम्म आउने बाटो र सञ्चालनमा आएका होमस्टेलाई अझै व्यवस्थित गर्न आवश्यक छ ।
स्थानीय प्राङ्गारिक खानासँगै मगर समुदायको सांस्कृतिक प्रस्तुति देखाउनसके यहाँ आउने पाहुना बढ्नसक्ने वडाध्यक्ष योगीको धारणा थियो ।