रोल्पाका किसानहरुको पिडा: तरकारीले बजार नपाउँदा घरपालुवा जनावरलाई खुवाउन बाध्य
रोल्पा । शहर वजारमा लकडाउनले तरकारीको हाहाकार भएपनि रोल्पाका किसानहरुले उत्पादन गरेको तरकारीले बजार नपाउदा घरपालुवा जनावरलाई खुवाउन बाध्य छन ।
रुन्टिगढी गाउपालिका ७ खुर्साबाङ र खाक्सीबन गाँउका किसानहरु उत्पादित कृषीजन्य बस्तुले उचित वजार नपाउदा पशुचौपायालाई खुवाउन बाध्य भएका हुन ।
कृषकहरुले बारीमा उब्जनी गरेका साग, तरकारि, टमाटर बन्दा जस्ता तरकारीहरु खेतबारीमै कुहिन थालेका छन त केही खोलामा लगेर समेत फाल्न बिबश भएको स्थानीय कृषकहरु बताउनुहुन्छ ।
मेहनत गर्ने किसानको दुख पिडा नबुझ्ने कस्तो लुटतन्त्र भएको सरकार हो भन्दै स्थानिय कृषकहरुले आक्रोश ब्यक्त गर्नुभएको छ ।
तरकारीले बजार नपाउदा खोलामा लगेर फाल्नु परेको रुन्टिगढीका स्थानीय कृषक हितमान रेउले दुखेसो पोख्नुहुन्छ । लामो समयदेखी स्थानीय सरकारलाई जानकारी गराउदा पनि बजारीकरणको लागी कुनै व्यवस्था नगरेको उहाँले गुनासो गर्नुभयो । बाटोको समस्याले दाङ सम्म पुर्याउन नसकिएको उहाँले बताउनुभयो । ‘दाङ सम्म लैजाने ब्यबस्था भए तरकारीले बजार पाउथ्यो तर बाटोको समस्याले सवारी साधन आउन सक्दैनन ।,’उहाँले गुनासो गर्नुभयो ।
बारम्बार गाउपालीकामा ध्यानाकर्षण गराउदा समेत स्थानिय सरकार प्रमुखले कुनै पहल नगरेकोले लामो समयदेखी उत्पादन गरेका तरकारीले बजार नपाएको बताउनुभयो ।
उहाँले उत्पादन गरेका तरकारीले बजार नपाउदा लगानी र मेहनत खेर गएको पिडा व्यक्त गर्दे भन्नुभयो,‘पटक पटक उब्जनी भएको तरकारी बारीमा कुहिएको देख्दा दुख लाग्छ नत आफुले खाएर सकिन्छ ।’
खर्सीबाङ रोल्पाको पुर्वी क्षेत्रमा रहेको उब्जनी योग्य स्थान हो जहाँँ सिचाईको उचित सुबिधा छ तर उत्पादित कृषीजन्य बस्तुले बजार नपाउदा स्थानीय कृषकहरुको लगानी र मेहनत खेर गएको छ ।
लामो समयदेखी कृषी र पशुपालनमा लागेका सोही ठाउका अर्का स्थानीय कृषक शेरबहादुर रोकाको पिडा पनि त्यस्तै छ । उहाँको बारीमा फलेका टमाटर र बन्दाले बजार नपाउदा बारीमै कुहिन थालेका छन ।
बर्खामा भएको कच्ची बाटो पनि पहिरो र हिलोले हिड्न नसकिने अवस्थामा पुगेको बेला बजार सम्म कसरी लगेर जाने भन्दै दुखेशो पोख्नुभयो ।‘हिलो र पहिरोले कच्ची बाटोमा हिड्न नसकिने अवस्थामा कसरी तरकारी बोकेर ४ किमीको बाटो जान सक्नु’ रोका आक्रोश व्यक्त गर्नुहुन्छ ।
बजारको अभाब र तरकारीले मुल्य नपाउदा एकातिर मेहनत खेर गएको छ भने अर्कोतिर आर्थीक उपार्जनको माध्यमनै तरकारी खेती भएकाले आर्थीक समस्याले पिरोल्न थालेको स्थानीय कृषकहरु दुखेसो पोख्नुहुन्छ ।
बारम्बार गाँउपालिकाका प्रमुख समक्ष गुनासो गर्दा आश्वासन बाहेक केहि नपाएको पिडित किसानहरुको गुनासो छ । यातायात र बाटोको अभाबमा उत्पादित तरकारीले बजार नपाउदा उक्त गाँउका किसानहरु मेहनत र आर्थीक नोक्सानी ब्यहोर्न बाध्य छन ।
रुन्टिगढीका स्थानिय संचारकर्मी बलबीर नेपाली किसानको मर्का नसुन्ने सरकारको कार्यालयमा लगेर कुहिएको र खोलामा फालीएको तरकारी लगेर फाल्दीनुपर्ने भन्दै आक्रोश ब्यक्त गर्नुहुन्छ । ‘किन खोलामा फाल्ने,किन खेतबारीमा नष्ट गर्ने ? तरकारी ल्याएर स्थानीय सरकारको कार्यालयमा फाल्दीनुस न ।’ संचारकर्मी नेपालीले बारम्बार स्थानीय सरकारलाई जानकारी गराउदा ठोस कदम नचालेको भन्दै रुन्टिगढी गाँउपालिकाको स्थानीय सरकार किसानमारा भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।