बर्दियाको पहिचान बन्दै सौगात बेल जुस
बर्दिया । मधुबन नगरपालिका वडा नं.- २ ओराली बजार स्थित नवदुर्गा सामुदायिक बेल सर्वत उद्योगले सौगात बेल जुस उत्पादन शुरु गरेको कारीब १६ वर्ष भइसकेको छ ।
कोभिड-१९ का कारण लकडाउनमा पनि सामाजिक दुरी, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै हालसम्म पनि उद्योगले बेल जुस उत्पादन गर्दै आईरहेको छ ।
प्रतिदिन एक हजार बोतल उत्पादन हुने गरेता पनि बजार माग अनुसार पुर्याउन नसकेको उद्योग संचालक समितिका अध्यक्ष कृष्ण परियारले बताउनु भएको छ । बेल जुसको देशका मुख्य शहरबाट समेत माग भैरहेको आधिकारिक बिक्रेता विवेक मल्ल र सुनिल केसी बताउनुहुन्छ ।
शुद्ध अर्गानिक बेल दैनिक लगभग १५ कुन्टलसम्म सामुदायिक वनहरुबाट टिपेर सिधै उद्योगमा आउने गरेको गरेको उद्योगका अप्रेटर गिता प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
स्मरणशक्ति बढाउने, मुटुको संचालन प्रक्रिया ठिक गर्ने, पाचन शक्ति बढाउने, पेट सफा गर्ने, आंत शितल गर्ने, स्फुर्ति जगाउने, छाला चम्काउने, घामबाट डढ्न जोगाउने र मधुमेह नियन्त्रण गर्ने यस्का फाईदाहरु रहेको उद्योगका संचालकहरुको दाबी छ ।
२४ वटा सामुदायिक वनहरुले शेयर लगानी गरि संचालन गरेको नवदुर्गा सामुदायिक बेल सर्वत उद्योगले १५ जना युवाहरुलाई रोजगारी दिदै आएको छ ।
मधुबन नगरपालिका वडा नं- १ का शिव सामुदायिक वन, दुर्गा सामुदायिक वन, गणेशपुर सिसिनिया सामुदायिक वन, गेरुवा कर्णाली सामुदायिक वन, ओराहि सामुदायिक वन, मधुबन नगरपालिका वडा नं- २ का महिला लक्ष्मी सामुदायिक वन, जनजागृती सामुदायिक वन, फर्दङ्गा सामुदायिक वन, ओराली सामुदायिक वन, गणेश सामुदायिक वन, मधुबन नगरपालिका वडा नं- ३ का गौरी महिला सामुदायिक वन, बालकुमारी सामुदायिक वन, झुरिया सामुदायिक वन, सम्झना सामुदायिक वन, कोठियाघाट सामुदायिक वन, बेलझुण्डि सामुदायिक वन, श्रीजनशिल सामुदायिक वन, दलित सामुदायिक वन, खाता सामुदायिक वन समन्वय समिती, मधुबन नगरपालिका वडा नं- ४ का देउराली सामुदायिक वन र मधुबन नगरपालिका वडा नं- ५ का श्रीकृष्ण सामुदायिक वन, चिरौटे सामुदायिक वन, खैरेनि सामुदायिक वन र डांडे सामुदायिक वनहरु यस् ओराली बजार स्थित नवदुर्गा सामुदायिक बेल सर्वत उद्योगको शेयर सदस्य रहेका छन ।