लन्डन । हाम्रो देश नेपालको हरेक दिनको बदलिँदो दयनीय आर्थिक अवस्था सँगै, नेपालमा हरेस खाएर होस् या आफ्नो व्यापार, व्यवसाय अनि भविष्य अनिश्चित देखेर परदेश भित्रिनेहरूको सङ्ख्या विगत केही समयदेखि ह्वात्तै बढेको छ ।
राजनीति गर्नेहरूलाई कसरी हामी उल्लु जनताहरूलाई जात, भात, धर्म, रङ्ग, वर्ण आदिको आधारमा विभाजित गरौँ र शासन गरौँ भन्ने मात्रै छ । अनि विभिन्न रूपमा तिनैका उत्तराधिकारीहरू मात्रै आइरहेका छन् हरेक कालखण्डमा । कोही जातका कुरा गरेर, कोही अधिकारका कुराहरू गरेर अनि कोही धर्म र सुशासनका कुराहरू गरेर। तर, बढ्दो बेरोजगारी, व्यापारमा घाटा, आपराधिक घटनाहरू, अनि अनिश्चित भविष्य देखेर, अनि जुन जोगी आए नि कानै चिरेको भने जस्तै लागेर साथै हाम्रो देशको लाचार र भ्रष्ट सिस्टमबाट दिक्क भएर, के महिला, के वृद्ध, के जवान… सबै वर्गका हामी नेपालीहरूले अब नेपालमा बस्नु सुरक्षित छैन, विदेश तिरै पलायन हुँदा ठिक हुन्छ भनेर सोचेरै होला, केही समयमा नै पढ्ने, घुम्ने, काम गर्ने आदि बहानामा बिदेसिनेहरूको सङ्ख्या ह्वात्तै बढेको छ । सही अर्थमा भन्नु पर्दा, हाम्रो देश नेपालमा अहिले अकस्मात् परदेशिनेहरुको, एक प्रकारको बाढी नै आएको छ भन्दा उपयुक्त होला । यो कुरा पछिल्लो ९ महिनामा विदेशमा पढ्न जानेहरूले मात्रै खर्च गरेको लगभग ७० अरबबाट पनि हामी अनुमान लगाउन सक्छौ।
साउथ हाल लन्डनको एक भारतीय रेस्टुरेन्टमा कफीको चुस्की लिँदै सामाजिक अभियन्ता मनोज गौचन भन्छन्, "जुन जोगी आए नि कानै चिरिएको भनेको जस्तै हाम्रो देशमा जो नेता आए नि सुरु सुरुमा मात्रै हो राम्रा अनि मिठा कुरा गर्ने, जनतालाई उचाल्ने । पछि उही हो । नेताहरूको पनि शासन चल्ने रहेछ । एकताका प्रचण्ड बाबुरामको कस्तो हाइप थियो, गगन थापाको कस्तो थियो...अहिले सिजन चेन्ज भएको छ। केही समय यही सिजन चल्ने छ अनि फेरी उही हो । विभिन्न रूपमा आएर, हामी सोझा नेपाली जनताहरूलाई, आफ्नो स्वार्थपूर्तिको लागी विभिन्न बहानामा ..लडाएर आफू सत्तामा र पावरमा पुगेपछि हामी जनताहरूलाई पिठ्यूँ फर्काएर देखाए अनि आफै सम्पन्न भए । पद र कुर्सीको नशा यो संसारकै खतरनाक नशा हो । अहिलेको सिजनल नेताहरूले पनि चाँडै भविष्यमा इतिहास दोहोर्याउने नै छन् । लेखेर राख्नुहोस् यो कुरा । जबसम्म हामी जनताहरू उनीहरूबाट मुटु छियाछिया हुने गरी निराश हुन्नौ, उनीहरूको पछाडि लाग्ने अनि उनीहरूलाई हिरो बनाउन नछोड्दा सम्म हामीलाई र हाम्रो देशलाई उनीहरूले सताइरहने छन् । आफ्नो सोसल मिडियामा पार्टीका कार्यकर्ता हुँ, समर्थन गर्छौ भन्दै त्यस पार्टी र नेताको फोटो अनि पोस्टहरू राखेर सेयर गरेर, शान र भक्ति गान देखाउँदै पोस्ट्याउँदा आफूलाई 'कूल' सोच्छौ । तर यो बिर्सिन्छौ कि, आजसम्म जनतालाई उचाल्दै जो आए हामी नेपाली जनतालाई होइन, आफ्नैलाई समृद्ध बनाए ।"
राजनीति गर्नेहरूले, हामी जनताहरूलाई विभिन्न बहानामा विभाजित गरेको खेल बुझेर, त्यस्ताहरूको पिछा लाग्न र जुध्न छोडेका अलिअलि बुझेका नयाँ पुस्ताका शिक्षित युवाहरूले, केही गरौँ भनेर आफ्नो भएभरको सम्पत्ति बैङ्कमा राखेर नेपालमा व्यवसाय गर्न सुरु गरे तर अहिले बैङ्कको किस्ता सकिने बेलामा, सब चौपट भएर बाँच्नै गाह्रो भएर भारी मन लिएर बिदेसिनु पर्ने अवस्था छ । सम्झिँदा पनि कन्चट तातेर आउँछ। मरी मरी पढ्यो, जागिर खान गयो, जागिर छैन, ऋण धन गरेर व्यवसाय गर्यो, व्यापार छैन । म आफैँले साहुको भाडा समेत ३ महिनादेखि तिर्न सकिरहेको थिएन । अहिले यहाँ कमाएको अलिअलि जोगाउँदै नेपाल पठाउँदै आफ्नो बिग्रेको व्यवहार मिलाउने प्रयास गर्दै छु । फाटेको घाउलाई सिलाउने प्रयास गर्दै छु । मेरो मात्रै होइन, देशभरिको हाल यस्तै छ ।
काठमाण्डौको त झनै ४०% सटरहरू खालि भैसके । लकडाउनको बेलामा जस्तो छ । न मानिस छन्, न कोहीसँग पैसा । पहिला भिडभाड हुने बजार अहिले खाली हुन्छ । सबैलाई सोध्नुस् अहिले बाच्नै गाह्रो छ । आशिष् सर लौन सम्बन्धित निकाय र सरोकारवालाहरू समक्ष यो कुरा पुर्याइदिनु पर्यो । यस्तै पारा हो भने, अहिले दुई-चारजनाले मात्रै आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेका छन् । भोली हजारौले आत्मदाह गर्ने छन् । अनि त्यसपछि लाखौँ हाम्रा आफन्तहरूले ती हामी जनताहरूलाई जात,भात,धर्म,लिङ्ग आदिको आधारमा विभाजित गरेर, राजनीति गर्नेहरूको, घरघरमा छिरेर, नेपालका सबै राजनीति गर्नेहरूलाई नाङ्गै पारेर सडकमा घिसार्ने छन् । भ्रष्ट्राचारी नेताहरूलाई हामी जनताहरू जलेको जस्तै जिउँदै जलाइदिने छन् । अनि बल्ल मात्रै तिनीहरूले अनुभव गर्ने छन् पिरले मुटु होस् या शरीर, त्यो पोल्दा कति पिडा हुने रहेछ । हामी नेपाली जनताहरूले कति पिडा यस पोलेको छातीमा लुकाएर आजसम्म राखेका रहेछौ बल्ल बुझ्ने छन् नेताहरू र तिनका आसेपासे चम्चाहरूले ।भर्खरै जन्मेको आफ्नो काखे बालक, आज हो कि भोलि हो भनेर अस्ताउन लागेका वृद्ध आमा-बुवा अनि आफ्नाहरूलाई छोडेर बिदेशिनु पर्दाको पिडा ती नेताहरूलाई के थाहा भन्दै एक ब्यक्तिले आँखाभरि आशु पार्दै हाम्रो टिमसँग दुख पोखे ।
नेपालमा कति दुख गरेर, त्यहाँ केही भविष्य नदेखेर, उच्च शिक्षा लिने साथै यतै भविष्य बनाउने सोचका साथ सपनाको नगरी लन्डन बल्लतल्ल आउन त आए तर सोचे जस्तो रहेनछ यहाँ । कोठा पाउन गाह्रो । जागिर पाउन त कुरै छोडौँ अति गाह्रो । विश्वासिलो मान्छे भेटिन त असम्भव जस्तै रहेछ । महिलाहरूलाई झनै गाह्रो । यसो केही सहयोग मागौ, कोठा कतै छ, काम कतै छ कि भनेर यसो अगाडी आएकाहरुलाई गुहारौँ या सामाजिक सञ्जालतिरका ग्रुपतिर पोस्ट गर्यो भने नि त्यहाँ विभिन्न थरी मानिसहरू भेटिने रहेछन् । सामाजिक संजालमा, ठुला मानिसहरूसँग देखिने गरी आफ्नो फोटो राखेर, दुई चार हजार फलोवर लाइकस् बढाएर, अरूलाई देखाउन भ्रमपूर्ण र हावा पोस्टहरू राखेर नयाँ आएकाहरूलाई शान र फुर्ती लाउँदै,पासो थाप्ने सिकारीहरू । पैसा ठग्ने या थोरै पैसामा काम लागाउने श्रम शोषण गर्नेहरू । आफूलाई जन्माउने पनि महिला हुन् भनेर भुल्ने, आफ्नो बैनी-भतिज- छोरीका उमेरका केटी भए पनि, दुईवटाखुट्टाले उभिएको मात्रै भए पुग्ने मानवरूपी दानवहरू। यौन पिशाचहरू ।
कहिले लिबिंगमा, कहिले लव गरेको नाटक गरेर, सोझासाझा नेपालीहरूलाई लोभ-प्रलोभन देखाई, नयाँ ठाउँमा आएका, सामाजिक आर्थिक रूपले कमजोरहरूलाई शोषण गर्न पल्केकाहरू । मिठा-मिठा कुरा गरेर आफ्नो यौन भावनाहरु तृप्त गर्न खोज्नेहरू । अनि सामाजिक सञ्जालमा फेरी ठुलठुला कुरा गर्ने, बहुरूपीहरू । तेस्रो चाहिँ अरूले देख्दा चाहिँ एकदमै मदत गर्छ जस्तो गर्ने, कुनै दुख लाग्दो मदत मागेको पोस्टमा कल मी, म्यासेज मी या अरू केही रिप्लाई गर्ने या इनबक्समा म्यासेज गर्ने या भेटेर युके आएको १०/१५ वर्ष भएछ, यो फलाना मैले गरिदिएको, फलाना ठाउँमा गयो भने फलाना भाइ भन्छ मेरो गुणगान गाउँछ भनेर नयाँ आएकालाई गफ मात्रै दिनेहरुहुदाँ रहेछन् । म नै हनुमान मेरो मात्रै पुच्छर लामो भन्नेहरु । हामी नयाँ आएकाहरूले चाहिँ निधारमा उल्लु लेखेर आएका हुन्छौ र उनीहरुले जे भने पनि पत्याउने? रिसाउँदै एक महिलाले हामीसँग कुरा गर्दै बिदेशमा भोग्नु परेको समस्याको बारेमा भनिन् ।
आज ४ वर्ष भयो युके आएको,यहाँ धेरैले राम्रो मानिसहरू,सामाजिक व्यक्तित्वहरू, यसले मद्दत गर्छ भनेर चिनिने व्यक्तिहरूले समेत ओछ्यानमा सुताउन र ठग्न गरेको कु-प्रयासहरूको स्क्रिन सट होस् या म्यासेज हामी थुप्रै सँग छ । तैपनि वर्षौँदेखि फेसबुकको एउटा युकेको चर्चित ग्रुपका चर्चित मुहार सहित थुप्रैबाट हामी पीडित भएका, हामीसँग घुमाउरो पारा होस् हामीलाई सेक्सुअलि हर्यास गरेका, म जस्तै थुप्रै महिलाहरुसँग सबुत नै छ । चाहेको खण्डमा उपलब्ध पनि गराउने छौ । यस्तै पारा हो भने, हामी त्यस यौनपिपाशुहरुको सामाजिक सञ्जालको आइडी ट्याग गर्दै मिटु लन्डन सुरु गर्छौ । अस्ति पनि भरकर नेपालबाट आएको एउटा बहिनीलाई यहाँ अलि चहलपहल देखाउने एक जना ब्यक्तिले त्यस्तै गरेछ । त्यो बहिनी रुँदै थिई । अरू देशकाको के कुरा गर्नु आफ्नै देशका दाईहरु-अङ्कलहरुले त यस्तो व्यवहार गर्ने भएपछि । हामीले जे भोग्यौ, नयाँलाई भोग्न नपरोस भनेर रोक्ने छौ । अब सामूहिक रूपमै त्यस्ता बहुरुपिहरुलाई हजुरहरुको सहायताले नाङ्गै पार्ने छौ । थापा थरकी पोखराका एक जना बहिनीले नाम र ठेगाना नलेख्ने सर्तमा हाम्रो युके टिमलाई जानकारी गराइन ।
अरू देशका मानिसले, आफ्नो देशको मानिसलाई कति माया र सहयोग गर्छन । हाम्रो भने सबै उस्तै । के महिला के पुरुष । घरबेटिहरुको नखरा छुट्टै छ फेरी । महँगो भाँडा तिरेर बस्दा पनि, सुख छैन । म्यानचेस्टरका ज्यासन तामांगले भने । अत्यन्त दुषित छ यहाँ लण्डनको नेपाली समाज । च्याउ जस्ता उम्रेका छन् नेपालीका संस्था तर सबै कि पार्टिका झोले कि जात/धर्मका ठेकदार । बरु नेपालमा यस्तो देख्न परेको थिएन । अस्ति प्लमस्टिड गएको हामी तीन जना साथीहरु, एकजाना यही घर भएको, यहीको नागरिकता भएको एकजाना नेपालीको घरमा । हामी मंगोलियन भोटे सोझो, हामीठिक । आर्यन बाहुन, क्षेत्री अनि नेवार मधेशी सब खत्तम । म त भोटे बाहेक अरूलाई मेरो घरमा कोठा भाडामा पनि दिन्न भन्दै मसँग चाहिंराम्रो संग बोल्नु भयो वहाँहरु तर मसंगै गएका एकजाना क्षेत्री अनि एकजाना यादव थरका साथीलाई चाहीं जवाफ पनि राम्रो सँग फर्काउनु भएन । एकदम नराम्रो लाग्यो । खिन्न मन लिएर त्याहाँबाट बाहिरियौ । युकेमा रेसिज़म हुन्छ भनेको सुनेको थिए तर अरू कसैले गरेको देखिएन बरु नेपालीले नै नेपालीहरूलाई गरेको दुखःलाग्दो रेसिज़म देखेर भन्नै मन लाग्यो। सबैभन्दा ठुलो रेसिस्ट त हामी आफै नेपाली हौ । नेपालीले नेपालीलाई देख्दा मुन्टो बटार्ने ठाउँ पो रहेछ यो । ज्यासनले मन खिन्न पार्दै भने ।
केही बन्दैन भनेको तर नक्कली शरणार्थी बनाई-बनाई करोडौँमा बेच्ने देशको नागरिक हामी । अनि त्यही व्यापारीका, झोलेहरुले खोलेको सङ्गठनहरूले र त्यसका सञ्चालकहरूले... फेसबुकमा फलाना भनेर लेख्ने, हामी नेपालबाट नयाँ आएकाहरूलाई ठुलो कुरा गर्दै फुर्ति झार्ने... । ज्यासन सँगै आएका विजय यादवले भने । हामी फलाना तिमीहरू फलाना भन्दै लन्डनमा बसेर समेत जातभातको कुरा गर्ने । एक्काईसौ शताब्दीमा पनि अशिक्षित जङ्गली युगको जस्तै कुरा अनि व्यवहार गरेको सुन्दा अचम्म लाग्ने । अनि भोग्दा म नेपाली हुँ भन्नै लाज र घिन लाग्ने व्यवहार गर्ने देशका नागरिक हौ .. साह भाइले दिक्क मान्दै भन्छन् ।
म दुखमा भएकाहरूसँग रमाउँछु । किनभने उनिहरुकॊ आँखामा,निस्वार्थ दया-मायाको अस्तित्वप्रति सन्देह देख्छु । अनि उनीहरुको आफन्तले नगरेको माया, म अन्जानले उनीहरूलाई गरेर, यो दुनियाँमा निस्वार्थ प्रेमको अस्तित्व अझै रहेको प्रमाण दिन्छु । सामाजिक कार्यमा लामो समय देखी निरन्तर लागिरहेका, लन्डनमा धेरैलाई सहयोग गरेका एक जना युवा आफ्नो नाम नलेख्ने सर्तमा भन्छन्।
तर दुःख लाग्दो कुरा के छ भने, उनीहरूको दुःखको दिन सकिन्छ,सबै भुल्छन् । आफन्तले त गर्न नसक्ने दिनमा, एउटा अन्जानले आएर गरेको माया प्रेम सहयोग सबै भुल्छन् । आभार व्यक्त गर्लान् भन्ने आशा गर्दिन । तर आजकल त उल्टै जसले माया सहयोग गर्छ, उसैको रिस गर्ने, डाहा गर्ने अनि कुरा काट्न थालेको पो देख्छु हौ । सतीले सरापेको देश अनि त्यसको नागरिक भनेको यतिकै होइन रहेछ । प्रगति होइन दुर्गतितिर लाग्ने बुद्धि मात्रै आउने हामीलाई । त्यही भएर होला आजकल सहयोग गर्न अगाडी बढ्ने मानिसहरू पछाडि हटेका । म चाहिँ गरिराख्ने छु अन्तिम श्वाससम्मै, उनले भने।
हजुरले भन्नु हुन्छ नि आशिष् दाइ, सबैलाई राम्रो सोचौँ, राम्रै गरौँ, त्यो मेरो धर्म। अरूले मेरो बारेमा के सोच्छन्, अनि मलाई कस्तो व्यवहार गर्छन् त्यो उनीहरूको कर्म । यही भन्दै म पनि हजुरकै कदम पछ्याउंदै छु।
अनि जसले आफूले नसोचेको रूपले सजिलै पाएको सहयोग,माया,साथ आदिको महत्त्व गर्दैन । यति त मेरो आफन्तले पनि गर्दैनन् भनेर बुझ्दैनन् । अनि सबैतिरबाट ढोका बन्द भएको बेलामा आफ्नो लागी कसैले नगरेको सहयोग माया गर्नेलाई इज्जत गर्दैन।त्यस्तालाई भगवानले पनि भविष्यमा धेरै अवसरका ढोकाहरू बन्द गरिदिने रहेछन् । आफूले गरेको कर्मको फल स्वर्ग या नर्कमा होइन, यही आफू बाँचुन्जेल नै पाइने रहेछ दाइ ।यस्तै छ संसार, सर्पलाई दूध खुवाए पनि डस्छ । गाईलाई घाँस खुवाए पनि दूध दिन्छ । बुढापाकाले गुण-बैगुन भनेको त्यही होला, ति युवा बताउँछन्।
यस्तै पारा हो भने हाम्रो देशमा कुनै दिन राजनीति गर्ने नेताहरू मात्रै हुनेछन् । बधाई छ हाम्रा देशका राजनीति गर्ने नेता भनाउँदा तिमीहरुलाई । आजसम्म हामी जनताहरूलाई विभिन्न तरिकाले फुटाउँदै-जुधाउँदै, आफ्नाहरूको र आफ्नो भुँडी भर्दै, देशको ढुकुटी मात्रै रित्याउँदै थियौ । जनताहरूलाई चाहिँ गाँस,बास,कपास र सुनिश्चित भविष्यको खोजीमा अन्तै देश जान बाध्य बनायौ । हाम्रो त्याग र बलिदानको सही मूल्य दियौ । हामीलाई आफ्नो देश र आफ्नो परिवारदेखि टाढा लखेट्यौ । अब चाँडै हाम्रो देश नेपालमा, तिमीहरू नेताहरु मात्रै हुनेछौ । बधाई छ । सबै राजनीति गर्नेहरूलाई । हामी सबै जनताहरूलाई हरेक दिन देशबाट लखेट्न सफल हुँदै गएकोमा । बधाई नेताज्यू । अनि सधैं कहिले कसको ..कहिले कसको लुगा फेरेको जस्तै नेता र पार्टी फेर्दै हिड्ने हामी या त्यही भ्रष्ट सिस्टमकै बाजा बजाउँदै हिड्ने हामी नेपाली जनता रुपी भेडाहरूलाई पनि, सही नेतृत्व छनौट गरेर, आफै देश निकाला हुनु परेकोमा डबल बधाई ।
अन्त्यमा के भन्न चाहन्छु भने, जसले जे भने पनि या जस्तो व्यवहार गरे पनि, पशु र मानिस भनेर शारीरिक बनावटले होइन, आफ्नो कर्म अनि व्यवहारले गर्दा छुट्टीने रहेछौ । अनि मेरो जिन्दगीमा पनि कोही यस्तो छ, जसले मलाई चाहिँ निस्वार्थ माया गर्छ । मेरो ‘ब्रुनॊ’…मेरो पप्पी । ती मानिसरूपी कुकुरहरू भन्दा, यो कुकुर रूपी मानिस, धेरै नै गुनिलो अनि ठिक छ । त्यसैले त आजकल मलाई मानिस भन्दा कुकुर मन पर्छ ।
आशिष जंग
(लेखक, पर्पल हेज, भगवान् कहाँ छौ तिमी? आदि आधा दर्जन नेपाली र अङ्ग्रेजी पुस्तकहरूका लेखक हुन् )