जोयल गिरी, काठमाडौँ । न्युरो अस्पताल बाँसबारी तथा उपेन्द्र देवकोटा फाउन्डेसनले प्रोफेसर डाक्टर उपेन्द्र देवकोटाको पुन्यतिथिमा एक दिवसीय न्युरोकन २०२३ सञ्चालन गरेको छ ।
नेपालको आधुनिक स्वास्थ्य विज्ञानका पिता प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाको पाँचौँ पुन्यतिथीको अवसरमा उपेन्द्र देवकोटा मेमोरियल बाँसबारी एवं उपेन्द्र देवकोटा फाउन्डेसनले गत साता एक दिवसीय गोष्ठी न्युरोकन २०२३ आयोजना गरेको छ ।
गोष्ठीमा नेपाल, भारत तथा बेलायतका न्युरो साइन्स विधाका करिब ४०० जना विशेषज्ञ एवं स्वार्थकर्मीको सहभागिता रहेको थियो । गोष्ठीको पहिलो दिन मस्तिष्क पक्ष घात एवं मेकानिकल थ्रोबेक्टोमीबारे तालिम दिइएको थियो ।
न्युरो अस्पतालमा भएको उक्त तालीम पश्चात् प्रा.डा. देवकोटाको सालिक अनावरण गरिएको थियो । न्युरो सर्जरी, न्युरोलजी, न्युरो ओटोलजी, न्युरोइन्टरमेन्सन, न्युरो क्रिटिकल केयर, न्युरो नर्सिङ जस्ता सम्पूर्ण न्युरो साइन्सका विद्यार्थीलाई समेटेर गरिएको यो नेपालकै प्रथम गोष्ठी रहेको छ ।
यो गोष्ठीमा करिब ६६ वटा कार्यपत्र प्रस्तुत गरिनुका साथै नेपालको न्युरोसाइन्सलाई प्रा.डा. देवकोटाले पुर्याउनुभएको योगदानलाई आत्मसाथ गर्दै संसारभरि भएको प्रगतिसँगै नेपाललाई कसरी अगाडि बढाउन सकिन्छ भनी समीक्षा गरियो ।
कार्यक्रमको सन्ध्यामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले उपेन्द्र देवकोटा फाउन्डेसनको उद्घाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा नेपालका प्रथम न्युरो सर्जन एवं प्रा.डा. देवकोटाका गुरु डा. दिनेश नाथ गंगोललाई नेपालको न्युरोसर्जरीका क्षेत्रमा पुर्याउनुभएको योगदानका लागि कदर पत्र समेत प्रदान गरी सम्मान गरिएको थियो ।
देश विदेशबाट आएका वरिष्ठ प्राध्यापक डाक्टरहरूले कार्यक्रम भव्य रूपमा सफल भएको भन्दै आयोजकलाई बधाई एवं धन्यवाद दिनुभएको थियो ।