वरिष्ठ नेता खनाललाई उपचारका लागि भारत लगियो, महासचिव पोखरेलद्वारा स्वास्थ्यलाभको कामना
काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि भारत लगिएको छ । नर्भिक इन्टरनेशलन अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री खनाललाई आज नेपाल वायुसेवा निगमको जहाजबाट थप उपचारका लागि अपराह्न साढे १२ बजे नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लगिएको हो । उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले दिल्ली पुग्नेबित्तिकै भर्ना भई उपचार शुरु गरिने बताउनुभयो ।
यसैबीच एमालेका महासचिव ईश्वर पोखरेलले नेता खनालको स्वास्थ्यलाभको कामना गर्नु भएको छ । नर्भिक अस्पतालमा पुगी उहाँले स्वास्थ्यलाभको कामना गर्दै नेता खनाललाई छिट्टै निको भएर आउन शुभकामना दिनुभयो । सोही अवसरमा नेता खनालले महासचिव पोखरेललाई “तपाईँले पार्टी मिलाउनुहोस् कमरेड” भनी आग्रह गर्नुभएकोथियो ।
स्वास्थ्यावस्था स्थिर
नर्भिक अस्पतालमा रहँदा उहाँको स्वास्थ्यावस्था स्थिर रहेको अस्पतालले जनाएको छ । ज्वरोसंँगै थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिएपछि उहाँलाई यही जेठ ३१ गते अस्पताल भर्ना गरिएको थियो ।
नेता खनालको फोक्सोमा पानी जमेको र सोही कारणले अक्सिजनको कमी देखिएको थियो । नर्भिकमा उहाँको उपचारमा संलग्न छातीरोग विशेषज्ञ डा ब्रजेन्द्र श्रीवास्तवले उहाँको ज्वरो उल्लेख्य घट्न नसकेको र पिसाब तथा रगतमा इन्फेक्सन देखिएको बताउनुभयो ।
हेमोग्लोबिनको मात्रामा कमी देखिएपछि उहाँलाई मङ्गलबार एक पिन्ट रगत चढाइएको थियो । अस्पतालको दुई पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले नथामेपछि एक पिन्ट मात्र चढाइएको नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।
कोभिड–१९ हुँदा उहाँलाई निमोनियाको समस्या देखिएको थियो । छातीरोग विशेषज्ञ डा श्रीवास्तवले नेता खनाललाई मिर्गौलाका समस्याबाट हुने लक्षण र कोभिड–१९ पछि देखिने लक्षण देखिएको बताउनुभयो । केही समयअघि नेता खनाललाई कोभिड–१९ को सङ्क्रमण पनि भएको थियो ।