झापा । दसैंका बेला घरघरमा दुर्गा भवानीको पूजासँगै जमरा उमार्ने चलन छ । ती जमरा मान्यजनका हातबाट टीकासँगै ग्रहण गर्ने परम्परा छ । तर, दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित एक मन्दिर परिसरमा ५१ वर्षीय प्रह्लाद सापकोटाले छातीमा दसैँको जमरा उमार्नुभएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण कार्कीले व्रतमा बसेको दुई दिनपछि जमरा उम्रिएको बताउनुभयो । मन्दिरमा दैनिक पूजापाठ हुने गरेको र छातीमा उम्रिएको जमरा हेर्न भक्तजनको घुइँचो लाग्ने गरेको छ ।
गाउँपालिकाकी उपप्रमुख पुजन न्यौपानेका अनुसार स्थानीय पाथीभरा मन्दिरमा घटस्थापनाका दिनदेखि निराहार व्रत बस्नुभएका सापकोटाले दसैँमा टीका लगाउनका लागि छातीमा जमरा उमार्नुभएको हो ।
गत असोज २८ गते बिहान पूजापाठ गरेर सापकोटा मन्दिर परिसरमा सुत्नुभएको हो । जमरा रोप्नुभन्दा दुई दिनअघिदेखि पानी र अन्नसमेत नखाई निराहार व्रतमा रहनुभएका उहाँले दुर्गा भगवतीको प्रसादको रुपमा जमरा प्रयोग गरिने बताउनुभयो । छातीमा बालुवामाथि टपरामा जमरा उमार्न मकै, जौँलगायतका अन्नका दाना रोपिएको थियो ।
यसरी जमरा उमार्दा कुनै शारीरिक कस्ट नभएको सापकोटाले बताउनुभयो । उहाँले व्रतका बेला मलमूत्रसमेत त्याग गर्नुभएको छैन । सापकोटाले आफूलाई पाथीभरा भगवतीको भक्त ‘माता गुरु’ बताउने गर्नुभएको छ । उहाँका छ सेवकले मन्दिर क्षेत्रमा आउने भक्तजनको व्यवस्थापन गरिरहेका छन् ।
स्थानीय तारा गिरीले जीवनमै पहिलोपल्ट छातीमा जमरा उमारेर निराहार व्रत बसेको देख्दा अचम्म लागेको बताउनुभयो । महानवमीका दिन एक लाख दीप प्रज्ज्वलन गरेर व्रत समापन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
दसैँको महानवमीका दिनसम्म दुर्गा भवानीको विधिपूर्वक पूजा गरेर छातीमा राखिएको मकै र जौँको जमरालाई प्रसादका रुपमा सर्वसाधारणलाई दिइने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताउनुभयो ।