मुगु । मुगुको छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी मृतावस्थामा फेला परेका छन् ।
मृतास्थामा फेला पर्नेमा छायानाथ रारा –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज , ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँले घटनाको खबर पाउनासाथ आज बिहान ११ बजे घटनास्थलमा प्रहरी पुगेको बताउनुभयो । घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दक्षिण पूर्वमा रहेको छ । हत्याको आशंका गरिएका चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको छ ।
श्रीदेवीका श्रीमान् वैदेशिक रोजगारीमा रहेको बताइएको छ । कसले के उद्देश्यले हत्या गर्यो खुल्न सकेको छैन । घटनाको अनुसन्धान जारी रहेको प्रनाउ थापाले बताउनुभयो ।
प्रारम्भिक अनुसन्धानअनुसार श्रीदेवी छोराछोरीसहित यही कात्तिक ७ गते बिहान दसैँको टीका थाप्न सोही वडा स्थित कोटिल्ला माइती गाउँ गएकी थिइन । यही कात्तिक ८ गते बेलुका घर फर्केका उनीहरुको सोही राति हत्या भएको हुनसक्ने आशंका गरिइएको छ ।
छिमेकीहरुले कात्तिक ९ गते बिहानदेखि श्रीदेवीको घरमा ताला लगाएको देखेपछि बिहानै सिमी टिप्न खेत गरातिर गएका होलान् अनुमान लगाएका थिए ।
१० गते बिहान पनि घरमा ताला लगाएको देखेपछि छिमेकीहरुले फेरि श्रीदेवी माइती गए कि भनी माइतीमा फोन गर्दा ८ गते नै गएको भनेपछि छिमेकीले आज बिहान १० बजेतिर ढोकाको ताला फाडेर भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका जनाइएको छ ।