सिरहा । धेरैलाई लाग्छ पत्रकारले अरुका सफलता र असफलताका कथा मात्रै लेख्छन् । आजभन्दा चार दशक अगाडिदेखि सिरहाको गोलबजार नगरपालिका—२ गुरुधामका अर्जुन थपलियाको सयम पनि अरुको बारेमा लेख्दै बितिरहेको थियो । अचेल भने उहाँ अरुका लागि समाचारको विषय बन्नुभएको छ । पछिल्लो समय उहाँले व्यावसायिक तरकारी उत्पादक कृषकका रुपमा छवि बनाउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ सिरहा शाखाको कार्यसमिति सदस्यसमेत रहनुभएका थपलिया पत्रकारितासँगै करिब एक दशकदेखि निरन्तर व्यावसायिक तरकारीखेतीमा सक्रिय हुनुहुन्छ । उहाँले करिब पाँच बिघा जमिनमा तरकारीखेती गरिरहनुभएको छ ।
पत्रकारिताले जीवन धान्न कठिन हुने भएकाले जीविकोपार्जनका लागि कृषि पेसा अँगालेको थपलियाले बताउनुभयो । अहिले वार्षिक रू ४० लाखभन्दा बढीको तरकारी बेचेर आम्दानी गर्ने गरेको जनाउँदै उहाँले पत्रकारितामा हुँदाजस्तो आर्थिक अभावबाट मुक्ति मिलेको बताउनुभयो ।
“पत्रकारितामा नाम त छ तर आर्थिकरुपमा जीवन धान्न धौधौ छ । मोफसलमा त विशुद्ध पत्रकारिता गरेर सामान्य जीवनयापन गर्न पनि सकिँदैन”, थपलियाले भन्नुभयो, “आर्थिक अभाव टार्नका लागि पनि मैले व्यावसायिकरुपमा कृषि कर्म सुरु गरेको हुँ ।”
विसं २०६० भन्दा अगाडि करिब २० वर्षसम्म विभिन्न सङ्घसंस्थामा जोडिएर सामाजिक काम गर्नुभएका थपलिया पत्रकारितामा भने सानै उमेरदेखिको रुचिको रुपमा रहेको बताउनुहुन्छ ।
“पत्रकारिता सानैदेखिको रुचिको विषय भए पनि यसबाट श्रमजीवी पत्रकारको जीविकोपार्जनमा समस्या देखेपछि व्यावसायिक तरकारीखेती सुरु गरे । पत्रकारिता र कृषि फरक विधा भए तापनि सँगसँगै लगेको छु”, उहाँले भन्नुभयो, “अहिले वार्षिक रू ४० देखि ५० लाखको तरकारी बिक्री गरिरहेको छु । यसले १५ जना सदस्य रहेको परिवारको जीविका चलाउन सहज भएको छ ।”
खेतिपातीमा श्रीमती एलिना राई र भाइ माधव थपलियालगायत परिवारका अन्य सदस्यले पनि साथ दिइरहनुभएको थपलियाको भनाइ थियो । आम्दानीबाट परिवारका सात बालबच्चालार्ई काठमाडौँ राखेर पढाइरहेको उहाँले बताउनुभयो ।
“वर्षको १०/१२ लाख केटाकेटीको पढाइमा खर्च हुन्छ । परिवारमा १५ जनाकोे जीविका यही तरकारीखेतीबाट चलेको छ”, थपलियाले भन्नुभयो, “कृषिलाई हेयका दृष्टिले हेर्ने चलन छ । आफू उत्पादनसँग जोडिन पाउँदा खुसी लागेको छ । आफूले कर्म गरेपछि कसैको अगाडि हात फैलाउनु पर्दैन ।”
बारीभरि लगाइएको तरकारीले जो कसैको मन आनन्दित बनाउने गर्दछ । बारीसम्म तरकारी ढुवानी गर्ने गाडी लिएर व्यापारी पुग्ने गरेको उहाँले बताउनुभयो । साथै जिल्लाका स्थानीय हाटबजार तथा गोलबजारमा मङ्गलबार र शनिबार, चोहर्वामा सोमबार र बिहीबार, धनगढीमाइमा आइतबार र बुधबार गरी हप्ताको छ दिन तरकारी बेचबिखन हुने थपलियाले जानकारी दिनुभयो । उदयपुरको गाईघाट र कटारी, धनुषाको जनकपुर, सप्तरीको राजविराज र भारतको सीमावर्ती गाउँसम्म पनि तरकारी बिक्रीवितरण हुने उहाँले जानकारी दिनुभयो ।
तरकारी खेतीसँगै उहाँले पशुपालन पनि गरिरहनुभएको छ । दुई भैँसी र २५ वटा बाख्रा पाल्नुभएको छ । पशु चौपायालाई घासपातका लागि करिब दुई बिघामा फैलिएको बाँस र अन्य घाँसे बुट्यानसहितको वन रहेको थपलियाले बताउनुभयो । “यही वनले काठ, दाउरा र घाँसपात धानिरहेको छ । वर्षमा दुई लाख बराबरको बाँस मात्र बिक्री गर्ने गरेको छु”, उहाँले भन्नुभयो, “अब यो वर्षबाट व्यावसायिकरुपमा एक सय बाख्रा थप्ने योजना छ ।”
पत्रकारिताबाट आफ्नो जिन्दगी धान्न मुस्किल रहेको बताउने थपलियाले अहिले गरिरहेको कृषि खेतीबाट तरकारी टिप्न, गोडमेल गर्न र बजारसम्म लैजानका लागि १० जनालाई नियमित रोजगारी दिनुभएको छ । सिजनअनुसार १५/२० जनाले थप रोजगारी पाउने उहाँको भनँइ थियो ।
कृषिको विकास र उत्पादनको बजारीकरणबाट मात्र आर्थिक समृद्धिको आधार तयार हुने थपलियाको निष्कर्ष छ । “काठमाडौँ कालीमाटी तरकारी बजारसम्म नेपाली किसानको पहुँच पुग्न नसक्नु र नेपालका अन्य ठूला सहरमा भारतीय तरकारीको हालीमुहाली हुनु नेपाली व्यावसायिक तरकारी कृषकका लागि दुःखको कुरा हो । भारतीय तरकारीको आलोपालो प्रणाली भएकाले नेपाली किसान मारमा छन्”, थपलियाले भन्नुभयो, “बजारमा स्थानीय उत्पादनको पुर्णरुपमा पहुँच भएको दिन मुलुकको आर्थिक अवस्थामा कायापलट हुने थियो । विदेश गएका नेपालीलाई स्वदेशमै रोजगारी दिन सकिन्छ । यहाँ जनशक्तिको अभाव हुन्छ ।” साथै विभिन्न तहका सरकारले किसानका लागि चिस्यान केन्द्र बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
वास्तविक किसानका लागि कुनै पनि निकाय तथा विभाग सहयोगी नभएको गुनासो थपलियाले गर्नुभयो । स्थानीय सरकारले कृषि पेसालाई प्रोत्साहनका साथ ध्यान दिन जरूरी रहेको उहाँको भनाइ थियो । “व्यावसायिक उत्पादनमा लाग्न खोज्ने कृषकका लागि सस्तो व्याजदरमा ऋणको व्यवस्था गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “कृषिमा गरिएको लगानीबाट देशलाई नै आत्मनिर्भर बनाउन सकिन्छ ।”
तरकारी किसानलाई जिल्लाका सरकारी निकायका अधिकारीले बेवास्था गरेको भन्दै थपलियाले हालसम्म अनुदान तथा सहयोग नपाएको बताउनुभयो । “पहिलो कुरा हाम्रोमा कृषिलाई हेयका दृष्टिकोणले हेरिएको छ । कृषि ऋणका लागि किसानलाई देखेपछि बैंकका कर्मचारी ‘नदुखेको टाउको डोरी कसेर दुखाउनु’ भने जस्तो गर्छन्”, उहाँले भन्नुभयो, “वास्तविक किसानलाई रू १०÷२० लाख चाहिनेमा बरु फर्जी किसानले सजिलै करोडौँ रुपैयाँ लिएर दुरुपयोग गरिरहेका हुन्छन् ।”
मल, खाद्य, सिँचाइ, कृषि बिमा तथा नयाँ रोगलगायत समस्या झेलेर किसानले तरकारी उत्पादन गरे पनि विचौलियाका कारण किसान मार्कामा परेका थपलियाले बताउनुभयो । कृषि मन्त्रालय तथा सम्बन्धित निकायले कृषि पेसालाई व्यवस्थित बनाउँदै बजारीकरणमा सहयोग पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
श्रमजीवी पत्रकार ऐनको पूर्णरुपमा कार्यान्वयन नहुनु र पत्रकारलाई न्यूनतम पारिश्रमिकसमेतको व्यवस्था नहुँदा समग्र पत्रकारिता पेसा नै ‘मागीखाने भाँडो’जस्तो बद्नाम हुनसक्ने भएकाले सरकारले यस सम्बन्धमा ध्यान दिन जरुरी रहेको थपलियाको भनाइ छ ।
“स्वाभिमान जोगाएर पत्रकारिता गर्ने हो भने या त मिडिया हाउसले श्रमजीवी पत्रकारलाई पुग्नेगरी सामाजिक न्याय र सुरक्षाका हिसाबले न्यूनतम पारिश्रमिक दिनुप¥र्यो, होइन भने पत्रकारले आफ्नो पौरखले कतै केही गर्नुपरो । नभए उपाय छैन”, उहाँले भन्नुभयो, “आफ्नै पौरख र मेहनतका भरमा व्यावसायिक कृषि पेसामा हात हालियो । सामाजिक विषयमा सशक्त कलम चलाउन छाडेको छैन । म कसैसँग डराउने तथा मोलाहिजा गरेर कलमलाई बन्द गर्दिन ।”
विसं २०४० मा ८ कक्षामा अध्ययनरत हुँदै गर्दा भित्तेपत्रिका प्रकाशन गरी पत्रकारिता सुरु गरेका थपलिया तत्कालीन समयमा भित्तेपत्रिका निकालेकै आधारमा विनाकारण दुई दिन थुनामा परेको घटना अहिले पनि ताजै लाग्ने बताउनुभयो ।
“पत्रकारितामा असाध्यै रुचि भए पनि यसैका कारण धेरै दुःख पनि पाइयो । अलि चर्चा हुन थालेपछि समाचार लेखेकैभरमा अनेक मुद्दा लगाएर फसाइयो”, उहाँले भन्नुभयो ।