तस्बिर क्रेडिट- बिश्वास सुवेदी
सन्दिप नाथ योगी, काठमाडौँ । ‘राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ चलाइरहेका दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।
बल्खुको चक्रपथ सडकखण्डमा प्रदर्शन गरिरहेका प्रसाईंका कार्यकर्ताहरूले प्रहरी घेरा तोडेर कालीमाटीतर्फ अघिबढेपछि प्रहरीले बल प्रयोग गरेको हो । निशेधित क्षेत्रमा प्रसाईंका आन्दोलनकारीहरू प्रहरीको घेरा तोडेर अगाडि बढ्न खोज्दा झडप भएको हो ।
प्रदर्शनस्थलमा दुर्गा प्रसाईंलाई साथ दिन राप्रपा सांसद ज्ञानेन्द्र शाहीलगायतका नेता समेत पुगेका छन् । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा फालेको छ । यता प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगामुढा हानेकाले बल प्रयोग गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
बिहान युवा संघका कार्यकर्ता र प्रसाईं समूहका प्रदर्शकारीबीच पनि झडप भएको थियो ।
प्रदर्शनको सुरक्षा व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक (असिस्टेन्ट इन्सपेक्टर जनरल) एआइजी दिपक थापाले नेपाल कागजलाई जानकारी दिए ।
प्रदर्शन स्थल र जुलुसको बाटोमा १ हजार ५८८ सशस्त्र प्रहरी परिचालित भएका छ्न । काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन भएला छन । ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा ९७८ जना ट्राफिक प्रहरी परिचालित छन ।
त्यस्तै प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागबाट सूचना सङ्कलनका लागि ३५१ जना सुरक्षाकर्मी सादा पोशाकमा परिचालन गरेको छ । एकीकृत सुरक्षा योजना अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयबाट २ सय जना सादा पोसाकका प्रहरी प्रदर्शनस्थलमा परिचालित छन ।
प्रदर्शनमा मुठभेड हुन नदिन र सुरक्षा व्यवस्था चुस्त राख्न उपत्यका प्रहरी कार्यालयले डीआईजीको नेतृत्वमा ‘कमाण्ड’ सेन्टर बनाएपनि युवा संघला।कार्यकर्ता र दुर्गा प्रसाईंका कार्यकर्ताबिच ढुंगामुढा हानाहान भएको छ भने प्रसाईंका कार्यकर्ताहरूको प्रहरीसँग पनि झडप भएको छ ।
कमाण्ड सेन्टरमा सशस्त्र प्रहरी बलका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक र नेपाली सेनाका कर्णेल सहितको ‘संयुक्त टिम’ गठन गरिएको अवस्था छ । प्रदर्शन स्थलमा सुरक्षा व्यवस्थापनको नेतृत्व काठमाडौँका एसएसपीले गरेका छन । प्रहरीले ड्रोनबाट पनि प्रदर्शन स्थलको सुरक्षा निगरानी गरिरहेको छ ।