काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले हिन्दू राष्ट्र पुन:स्थापना र प्रदेश खारेजका लागि देशव्यापी आन्दोलन गर्ने भएको छ।
पुस १-३ सम्म काठमाडौँमा चलेको केन्द्रीय समिति बैठकले यी दुई एजेन्डालाई स्थापीत गर्न आन्दोलन गर्ने निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।
आन्दोलनको तयारीस्वरुप पुस र माघ महिनामा देशभर सभा सम्मेलन गर्न तयारी गर्ने राप्रपाको योजना छ । राप्रपाले फागुनमा मेची–महाकाली एकता यात्रा र काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष राजेन्द्र लिङ्देनले भन्नुभयो, ‘आन्दोलनका लागि समान विचार राख्ने दलहरु, अभियान तथा धार्मिक सङ्घ, संगठन, उद्योगी, व्यवसायी, विभिन्न पेशाकर्मीहरु, बुद्धिजीवी एवं देशभित्र र देशबाहिर रहनु भएका सम्पूर्ण राष्ट्रवादी नेपालीलाई सरिक हुन राप्रपा हार्दिक आह्वान गर्दछ, नवीन राप्रपा कार्ययोजनाका बाँकी कार्यहरु पनि आन्दोलनको अंगको रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ।’
राप्रपाले आन्दोलनका लागि अध्यक्ष लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेको छ । समितिमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी, केन्द्रीय सदस्यहरु र आमन्त्रित केन्द्रीय सदस्यहरु रहनेछन् ।