बागमती प्रदेश व्युरो अन्तर्गत (राष्ट्रिय सुरक्षा तथा अपराध बिट) काठमाडौँ । अध्यागमनको सेटिङमा दैनिक तीन सयजनासम्म विदेश उड्ने र अध्यागमन कर्मचारीले औसतमा प्रतिव्यक्ति ४० हजार रुपैयाँ पाउने गरेको पक्राउ परेकाबाट खुलेपछि त्रिभुवन अन्तरास्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीलाई प्रहरीले अनुसन्धानको घेरामा राखेको अवस्था छ । त्यसै कारण केही अघि कर्मचारी र प्रहरीबिच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हातहालाहाल भयो । प्रहरी स्रोतका अनुसार अध्यागमन कर्मचारीले दैनिक एक करोड रुपैयाँसम्म घुस लिने गर्दथे ।
ट्राभल एजेन्सीका सञ्चालकहरूले अध्यागमनमा यस्तो सेटिङ मिलाउँदै आएका थिए । अध्यागमनमा लामो समयदेखि बस्दै आएका नायब सुब्बासँग उनीहरूको वर्षौँदेखि गठजोड देखिएको छ । अध्यागमनको ड्युटीमा जोसुकै भए पनि उनीहरूसँग बिचौलियाले सेटिङ मिलाउनुले संगठित रूपमै मानव तस्करीको सेटिङ चलेको देखाउने प्रहरी अधिकारी बताउँछन् । त्यो प्रहरीले रोकिदिएपछी अहिले कर्मचारीमा छटपटाहत देखिएको प्रहरी स्रोतले बतायो ।
विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुनचन्द ठुकरीले हाम्रो प्रहरीलाई हेप्दै अध्यागमनका कर्मचारीले गालीगलौच तथा हातपात गरेको बताए । प्रहरी स्रोतका अनुसार अधिकृत मोक्तानले एक साताअघि क्यानका कर्मचारी गोपाल घिमिरेलाई पनि कुटेका थिए ।
भिजिट भिसामा विदेश मान्छे पठाएर कमाउने धन्दाको सेटिङ बन्द भएपछि कर्मचारी छटपटाएका छन् । प्रहरीले पहिलेदेखि नै जाँच गर्दै आए पनि अध्यागमन अधिकृतहरूको कमाइ घट्न थालेपछि कहिले काम बन्द गर्ने कहिले लफडा गर्ने गरेको विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुनचन्द ठुकरीले बताए । उनले नेपालकागजसँग भने, "हेर्नुस मैले धेरै मिडियालाई पनि जानकारी दिएको छु तँपाइलाई पनि भने म आफैलाई भिजिट भिसाबाट मान्छे विदेश पठाउन सेटिङका लागि ६० लाखको अफर आएको थियो । मैले यो कुरा नमानेपछि अँझै कडा गर्दा कर्मचारी आक्रोशित हुँदै गए ।"
कर्मचारीहरूले भिजिट भिसा सेटिङमा दैनिक १ करोडसम्म उठाउने गरेको प्रहरी स्रोतको दाबी छ ।
अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले प्रहरीले गरेको कामकारबाहीप्रति कर्मचारीको असन्तुष्टि नरहेको बताए । ‘अरू नै कारण घटना भएको हुन सक्छ । समितिको रिपोर्टमा कारण खुल्छ होला,’ उनले भने । महानिर्देशक तामाङले कर्मचारीलाई पनि छानबिन र अनुसन्धानमा ल्याएर प्रहरीले राम्रो काम गरेको जनाए । अनुसन्धानमा अध्यागमनका कर्मचारीले युवायुवतीसँग पैसा लिएर भिजिट भिसामार्फत विदेश पठाउने गरेको तथ्य फेला परेको थियो । त्यसमा संलग्न केही अधिकृतमाथि मुद्दा दर्ता भएर प्रक्राउ पुर्जीसमेत जारी भइसकेको छ । त्यसपछि प्रहरीले अध्यागमनका कर्मचारीमाथि निगरानी बढाउन थालेको हो ।
कर्मचारीले पुस १८ गते काम रोकेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै प्रहरीले अनावश्यक रूपमा दुःख दिएको गुनासो गरेका थिए । त्यसपछि माघ ९ मा गृह मन्त्रालयले भिजिट भिसामा विदेश प्रस्थान गर्ने नीतिलाई लचिलो बनाउँदै नयाँ कार्यविधि जारी गरेको छ । यसअघि २०७८ चैत २६ गते सचिवस्तरको निर्णय खारेज गरी गृहमन्त्री श्रेष्ठले कार्यविधि जारी गरेका हुन् । पुरानो कार्यविधिमा भिजिट भिसामा विदेश जाने प्रावधानमा कडाइ गर्दा पैसाको चलखेल हुने गरेको गुनासो आएको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलेको प्रहरी अनुसन्धानले देखाएको छ । जिल्ला अदालतले गिरोहमा आबद्ध थप सात अध्यागमन अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियामाथिको अनुसन्धानमा थप कर्मचारीको संलग्नता पुष्टि भएको हो । सोही आधारमा केही दिनअघि पक्राउ पुर्जी लिएर यसमा संलग्न थप कर्मचारीको खोजी सुरु भइसकेको छ । यसअघि नै अर्का अधिकृतविरुद्ध मुद्दा दायर भइसकेको छ ।
प्रहरी स्रोतका अनुसार अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत, काठमाडौंले ९ माघमा उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकृत खड्कासहित १० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीहरूको बयान र मोबाइलमाथि अनुसन्धान हुँदा संगठित गिरोहको संलग्नता पुष्टि भएको हो । अधिकृत खड्काले पक्राउ पुर्जी भएका सातैजनाको नामसमेत लिएर आफूहरूले मिलेरै भिजिट भिसामा यात्रा अनुमति दिने गरेको र पैसा बाँडेर लिने गरेको बयान दिएका छन् । उनको मोबाइलमा समेत यससम्बन्धी प्रमाण प्रहरीले फेला पारेको छ । सोही आधारमा उनीहरूलाई समेत प्रतिवादी बनाउन लागिएको हो ।
भिजिट भिसाको सेटिङमा प्रहरीले लिखत किर्ते तथा संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ । अनुसन्धान अन्तिम चरणमा रहेको र केही दिनभित्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले बताए । ‘भिजिट भिसाको सेटिङमा अध्यागमनका कर्मचारीको भूमिकामाथि पनि विस्तृत अनुसन्धान भएको छ,’ उनले भने, ‘दोषी देखिएका सबैलाई प्रतिवादी बनाउन सिफारिस गर्छौँ ।’
दुई महिनाअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यस प्रकरणमा प्रारम्भिक अनुसन्धान थालेको थियो । अपराध अनुसन्धान कार्यालयले अधिकृत खड्कासहितलाई पक्राउ गरी विस्तृत अनुसन्धानका लागि परिसरमा बुझाएको थियो । ३९ जना पक्राउ परेकामा किर्ते कागजपत्र बनाउने समूहविरुद्ध यसअघि नै अर्काे मुद्दा दायर भइसकेको छ ।
सुरुमा बिचौलिया गीता साहलाई पक्राउ गरी प्रहरीले यसको अनुसन्धान थालेको थियो । उनीमार्फत ट्राभल एजेन्सी सञ्चालक सरोज यादव पक्राउ परेकोमा उनीमार्फत नै प्रहरी अध्यागमन अधिकृत खड्कासम्म पुगेको हो । खड्काले यसमा संलग्न अन्य कर्मचारी र बिचौलियाबारे प्रहरीलाई खुलाएका थिए । सोही आधारमा ट्राभल एजेन्सी सञ्चालक पदम लामा, छिरिङ लामा, विनोद कार्की, रामप्रसाद भण्डारी, दिनेश ज्ञवालीलगायतलाई प्रहरीले पक्राउ गरेको हो । अधिकृत खड्काले श्रीमतीको बैंक खातामा समेत घुस लिने गरेका थिए ।
बिचौलियालाई ह्वाटएसपमा उनले श्रीमतीको बैंक खाताको क्युआर कोडसमेत पठाएको फेला परेको छ । अधिकृत भण्डारीकै बयानका आधारमा यसअघि अर्का अधिकृत ताराबहादुर कुँवरविरुद्ध प्रहरीले मुद्दा दायर गरिसकेको छ । खड्काविरुद्ध भने एक प्रहरी जवानलाई भिजिट भिसामा रसिया पठाउन सहयोग गरेको घटनामा मानव बेचबिखनको अर्काे मुद्दासमेत दायर भएको छ । जसमा उनलाई धरौटीमा छाड्ने आदेश भएको थियो । रसियन सेनामा भर्ना भएका ती प्रहरी पछि भागेर नेपाल आई उजुरी गरेका थिए । उनी अध्यागमनमा पैसा बुझाएरै दुबई हुँदै रसिया पुगेको अनुसन्धानमा खुलेको थियो ।
अध्यागमन कर्मचारीले भने प्रहरीले अनुसन्धान थालेपछि विरोध गर्दै आएका छन् । उनीहरूले काम नै रोकेरसमेत दबाब दिँदै आएका छन् । कर्मचारीको विरोधपछि गृह मन्त्रालयले प्रहरी र अध्यागमन कर्मचारीलाई सँगै राखेर यस विषयमा छलफल गरायो । जस क्रममा अनुसन्धानमा आबद्ध प्रहरीले सेटिङको प्रमाण नै पेस गरेपछि अध्यामनका कर्मचारी नरम भएको र प्रहरीलाई अनुसन्धान अघि बढाउन निर्देशन दिइएको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।
अध्यागमनको सेटिङमा दैनिक तीन सयजनासम्म विदेश उड्ने र अध्यागमन कर्मचारीले औसतमा प्रतिव्यक्ति ४० हजार रुपैयाँ पाउने गरेको पक्राउ परेकाबाट खुलेको छ । जसअनुसार अध्यागमन कर्मचारीले दैनिक एक करोड रुपैयाँसम्म घुस लिने गर्दथे । ट्राभल एजेन्सीका सञ्चालकहरूले अध्यागमनमा यस्तो सेटिङ मिलाउँदै आएका थिए । अध्यागमनमा लामो समयदेखि बस्दै आएका नायब सुब्बासँग उनीहरूको वर्षौँदेखि गठजोड देखिएको छ । अध्यागमनको ड्युटीमा जोसुकै भए पनि उनीहरूसँग बिचौलियाले सेटिङ मिलाउनुले संगठित रूपमै मानव तस्करीको सेटिङ चलेको देखाउने प्रहरी अधिकारी बताउँछन् ।
प्रहरी अनुसन्धानले सेटिङ बाहिर आएपछि गृह मन्त्रालयले हालै भिजिट भिसासम्बन्धी दुई वर्षदेखि लागू हुँदै आएको १७ बुँदे मापदण्ड खारेज गरी ६ बुँदे नयाँ कार्यविधि लागू गरेको छ । विगतमा विदेश नगएकाहरू खाडी देशमा घुम्न जान वार्षिक आय न्यूनतम पाँच लाख हुनुपर्ने, १२ कक्षा अध्ययन गरेको हुनुपर्ने मापदण्ड थियो । त्यो मापदण्डका कारण नक्कली कागजपत्र बनाउने धन्दा बढेको र अध्यागमनमा सेटिङको धन्दा बढाएको निष्कर्षसहित गृहले भिजिट भिसालाई केही सरलीकृत गरेको छ । नयाँ मापदण्डमा पर्यटक भिसामा संयुक्त अरब इमिटरेट्स (युएई), बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबिया जान समयमै फर्कने लगायत विषयमा स्वघोषणासम्बन्धी कागजमा विवरण भरेर हस्ताक्षर गर्नुपर्ने हुन्छ । जुन कार्यविधि १० माघदेखि कार्यान्वयनमा आएको छ ।