शरद रिजाल, काठमाडौँ (बागमती प्रदेश व्युरो अन्तर्गत क्राइम बिट) । साल १७ साउन ०७९ एक शक्तिशाली उपसचिव जुस खाँदै थिए । होटेलमा महंगो जुस खाएर घुसको विषयमा छलफल चल्यो । ती उपसचिवले घुस रकम आफ्नो गाडीमा हालिदिन भने । घुस रकम गाडीमा १६ लाख हालियो त्यसपछि क्याश नगद ६ लाख कालो प्लास्टिकमा बेरेर आफ्नो मिडियम साइजको ब्यागमा हाले । घुस लिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाल थिए ।
त्यही बेलामा सादा पोशाकमा परिचालित केही ब्यक्तिहरुले उनलाई नियन्त्रणमा लिए । उपसचिवले सोधे को हो तिमिहरू म उपसचिव हुँ मैले चाहेमा अहिले प्रहरीलाई फोन गरेर आदेश दिएँ भने सिधै जाक्किन्छौ । उप-सचिवलाई डिआइजीले स्याल्युट गर्छ भनेर म फोन लगाउँछु भन्दा त्यहाँ प्रहरी पनि देखिए । त्यसपछी त्यहाँ हामी अख्तियार दुरुपयोग अनुसन्धानबाट परिचालित अधिकारी हौँ भने पछि उनको सातो पुत्लो उड्यो । त्यसपछी उनी अख्तियारको फन्दामा परे ।
यस्तो छ घटना विवरण
६ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका र स्रोत नखुलेको १६ लाख गाडिमा भेटियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन उपसचिव प्रमोद नेपाल सोही भ्रष्टाचार मुद्दामा अहिले दोषी ठहर भएका छन्।
शुक्रबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले फैसला गर्दै उनलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले नेपालकागजसँग कुरा गर्दै भने नेपाललाई ६ लाख जरिवाना र एक वर्ष कैदको फैसला भएको छ। प्याराग्लाइडिङ सञ्चालन अनुमति (लाइसेन्स) दिन ६ लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाललाई १७ साउन ०७९ मा होटेलबाट रंगेहात पक्राउ गरेको थियो।
स्रोत नखुलेको थप साढे १६ लाख रुपैयाँसमेत अख्तियारकाे टोलीले उनको गाडीबाट बरामद गरेको थियो। घुस लिन उनी सरकारी गाडी लिएरै होटेल पुगेका थिए। नेपालले लाइसेन्स रोकेर तीन वर्षदेखि घुसको बार्गेनिङ गरेका थिए।
पक्राउ पर्दा उपसचिव नेपाल प्याराग्लाइडिङ सञ्चालनको लाइसेन्स दिने पर्यटन मन्त्रालयको हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका सिनियर एयर ट्राफिक कन्ट्रोलर थिए। उपसचिव नेपालले घुसका लागि बार्गेनिङ गरेको उजुरी पीडितले गरेपछि आयोगको टोली उजुरीकर्तासमेत लिएर होटेल पुगेको थियो ।
।
२ असोज ०७९ मा अख्तियारले उपसचिव प्रमोद नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। नेपाललाई घुस दिने बिबी एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठलाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो।
नेपालविरुद्ध ६ लाख रुपैयाँ बिगो कायम गरेर श्रेष्ठलाई मतियारका रूपमा अख्तियारले मुद्दा दायर गरेको थियो। विशेष अदालतले हरिभक्त श्रेष्ठलाई भने सफाइ दिएको छ।