कर्णाली ब्युरो, लुम्बिनी ब्युरो, कैलाली, बर्दिया । सङ्कटकालका बेला तत्कालीन शाही नेपाली सेना र माओवादीहरूको आक्रमण देखेको इतिहासको साँची पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कैलाली र बर्दिया जोड्ने चिसापानीको कर्णाली पुलमा भएको आगलागीले पुलमा क्षतिग्रस्त भएको छ । सो कुरा थाहा पाउने बित्तिकै बर्दियाबाट एम्बुलेन्स र जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक एसपी (सुपेरिटेण्डेण्ट अफ पोलिस) प्रवीण धिताल नेतृत्वको टोली आफै फिल्डमा थियो । लुम्बिनी ब्युरोलाई उनले दिएको जानकारी अनुसार सबै सुरक्षाकर्मी स्थानीय दमकल लगायतको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको छ तर कर्णाली पुलका लट्ठामा पनि आगो सल्केर क्षति पुगेको छ । आगलागीले पुलमा भएको यकिन क्षतिको विवरण आई नसकेको उनले जनाए ।
कसरी भयो त घटना ?
प्रारम्भिक अनुसन्धानमा गुडिरहेको लाइटर बोकेको ट्रकमा एक्कासि आगलागी हुँदा आगो पुलको लट्ठामा सल्केको थियो। आगोले ट्रक पुरै जल्दा ट्रक तल रहेको पुलको भागमा समेत क्षति हुन पुगेको हो।
वीरगन्जबाट कञ्चनपुर तर्फ आइरहेको लाइटर बोकेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा सोमबार साढे ४ बजेतिर एक्कासि आगलागी भएको थियो। आगो दन्केर पुलमा लट्ठामा सल्केको थियो।
आगो निभाउन नजिकका पालिकाहरूका दमकल गएका थिए। नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी पनि घटनास्थलमा आगो निभाउन पुगेका थिए। आगो नियन्त्रणमा लिन करिब डेढ घण्टा लागेको थियो। आगलागीले भएको क्षतिका कारण पुलमा आवतजावत बन्द भएको थियो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले कर्णाली ब्युरोलाई दिएको जानकारी अनुसार आगलागीले बन्द भएको पुल यथाशीघ्र खुलिहाल्छ ।
नेपालको सबैभन्दा लामो पुल मध्येको दोस्रो ठुलो रहेको कर्णाली पुलले सुदूरपश्चिम प्रदेशलाई देशको अन्य भागसँग जोड्ने गर्दछ। २०५१ सालमा बनेको कर्णाली पुल तारे पुल हो। यसको बिचमा ठुलो खम्बा छ र यसमा स्टिलका तारहरू बाँधेर ट्रसलाई अड्याइयाको हुन्छ। यो सय मिटर लामो तथा १० मिटर चौडाइको छ।
बिचको खम्बाको एक भाग तिर ३ सय २५ मिटर छ भने अर्को भाग तिर १ सय ७५ मिटर छ। यो पुलको निर्माणमा ३ हजार ८ सय ७० टन स्टिल प्रयोग गरिएको बताइएको छ। यसको निर्माण जापानको कावासाकी हेभी इन्डस्ट्रिजले गरेको थियो। कर्णाली पुल बन्नु अघि सुदूरपश्चिमका बासिन्दा काठमाडौँ लगायतका देशका अन्य भूभागमा ओहोरदोहोर गर्न भारतको बाटो प्रयोग गर्ने गरेका थिए। सशस्त्र द्वन्द्व एकल साक्षी उक्त पुलमा अँझैपनी गोलीका निसानहरू रहेको कर्णाली ब्युरो प्रमुखले बताउनुभयो भने लुम्बिनी ब्युरो प्रमुखले प्रहरी प्रशासनको काम सम्मान योग्य रहेको प्रतिक्रिया दिनुभयो ।