(सम्पादकीय)
बर्सेनि हुने प्राकृतिक विपद्ले यस बर्ष पनि असार शुरुमै अकल्पनीय धनजनको क्षति हुन गएको छ । कोभीड संक्रमणको यो दु:खद घडीमा प्रकृतिको यो बज्रपातले मानविय क्षतिका अतिरिक्त करोडौँ-करोड रुपैयाँ बराबरको भौतिक संरचना पनि नाश हुन गएको छ ।
त्यसोत प्राकृतिक बिपद बाजा बजाएर आउने बिषय नभए पनि हाम्रो भु-बनावट, उत्तर देखि दक्षिण बग्ने पानीको बहाव अवस्था, अव्यवस्थित बासस्थान, चेतनाको कमिका कारण बर्सेनि प्रकृति माथिको दोहनका कारण हुन गएको वातावरण विनाशलाई ध्यानमा राखी हाम्रा नीति योजना हुनु पर्नेमा सो हुन नसकेको देखिन्छ ।
बिगतका अनुभवबाट प्राप्त ज्ञानले गर्नु पर्ने पुर्व तयारी यसपटक पनि नपुगेको कारण ठुलो क्षति हुन गएको देखिन्छ । बर्षाको शुरु मै देखिएको प्रकृतिको यो डर लाग्दो बिनासले यस बर्षको अन्तिम सम्म के कति क्षति हुने हो सोका लागि आजै तिनै तहका सरकार, प्रशासनिक निकाय, सबै सुरक्षा निकाय र नगरिक समाज तथा संघ संस्था तयारी अवस्थामा रहन जरुरी छ ।
यसका लागि आर्थिक, प्राविधिक, मानविय क्षमताको उपयुक्त योजनाका साथ तयार रहन आवश्यक देखिन्छ । तत्कालको लागि उद्धार, पुनःस्थापना, राहत वितरण र प्रकोप न्यूनीकरण एवं प्रकोप पाश्चात हुन सक्ने स्वास्थ्य माहामरिको जोखिमका लागि समेत तयारी अवस्थामा रहनु पर्ने देखिन्छ भने भविष्यका लागि प्राकृतिक प्रकोपको पुर्वानुमान, जोखिम क्षेत्रको तथ्यांक संकलन एवं नक्सांकन, जोखिम क्षेत्रमा रहेको मानव बस्तिको उपयुक्त व्यवस्थापन, उद्धार एवं राहत, पुनः स्थापना, विपद् न्यूनीकरण समेतका पुर्व तयारी र प्रकृति मैत्री विकास हुन समेत जरुरी देखिन्छ । साथै केन्द्र देखि स्थानिय तह सम्मका विपद् व्यवस्थापन समितिलाई सकृय बनाउन जरुरी छ ।
त्यसै गरि गृह मन्त्रालय मातह रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिश्वमै प्राकृति प्रकोपको दृष्टिबाट बिसौँ स्थानमा रहेको नेपालका लागि तत्काल र दिर्घकालका लागि उपयुक्त कार्ययोजना बनाउन जरुरी देखिन्छ । यसमा तिनै तहका सरकारले समन्वयका साथ कार्य गर्नु पर्ने देखिन्छ भने आम नागरिकले समेत प्रकृति माथिको दोहन अन्त्य गर्न जरुरी छ ।
आज कतिपय खोला एवं नदि क्षेत्रमा बिकासका नाममा वा अन्य तवरले अतिक्रमण हुन गएकै कारण नदिको क्षेत्रफल घट्न गै मानव बस्तीमा डुबान हुन गै आजको जोखिम शृजना भएकोमा दुई मत छैन । अत यस तर्फ समेत ध्यान दिन जरुरी देखिन्छ ।