काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरको संयुक्त सुरक्षा समितिको आइतबारको बैठकले काठमाडौं उपत्यकामा वैशाख १६ देखि जारी निषेधाज्ञा मंगलबारबाट खुकुलो गराउने निर्णय गरेको छ । बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरेर जनजीवन सहज बनाउन सर्तसहित निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेको हो ।
असार ८ गते मंगलबारबाट खुकुलो निषेधाज्ञामा के गर्न पाइने - के नपाईने ?
तीनवटै जिल्ला प्रशासनबाट यसअघि विभिन्न वस्तु, सेवा तथा व्यक्तिका सवारीसाधन चलाउन जारी गरिएका पास पनि खारेज गरिएको छ । निजी सवारीसाधनमा जोर–बिजोर र सार्वजनिक ट्याक्सीलाई सिट संख्या तोकेर चलाउन अनुमति दिइएको छ । बैंक तथा वित्तीय संस्था, सहकारी, रेमिट्यान्सलगायतका क्षेत्रलाई कम जनशक्ति र आलोपालो गरेर निर्बाध सञ्चालन गर्न दिइनेछ । शैक्षिक संस्थाबाहेकका सबै सरकारी कार्यालय पनि आलोपालो र न्यूनतम जनशक्तिबाट सञ्चालन गर्न पाइनेछ ।
सपिङ मल, फेन्सी, गरगहना पसल, खेलकुद सामग्री, स्टेसनरी, विद्युतीय उपकरण, निर्माण सामग्री, टायल, मार्बल फर्निचरलगायतका व्यापार/व्यवसाय बारअनुसार तथा चारपांग्रे निजी सवारी र ट्याक्सीलाई जोर–बिजोर एवं सिट संख्या निर्धारण गरेर सञ्चालन गर्न बैठकले अनुमति दिएको हो । यो निर्णयले सटरमा व्यापार व्यवसाय गरेर दैनिक जीविकोपार्जन गर्ने तथा ट्याक्सी चालकलाई राहत मिलेको छ ।
सभा/सम्मेलन, भौतिक रूपमा उपस्थित भएर गरिने सबै किसिमका पठनपाठन, मन्दिरमा दर्शनार्थी आउजाउ, फुटपाथ पसल, सैलुन, ब्युटीपार्लर, क्लब, जिमखाना, जुलुस, जात्रा, महोत्सव, भोजभतेर, होटल, पार्टी प्यालेस, सिनेमा हललगायत भीड हुने क्षेत्रमा लागेको निषेधाज्ञा भने यथावत् रहनेछ ।
स्वास्थ्य र उपचारजन्यलगायत केही क्षेत्रलाई निर्बाध र दैनिक उपभोग्य र अत्यावश्यक सेवाको सूचीमा राखिएका अन्य ढुवानीका सवारीलाई राति ८ बजेदेखि बिहान ११ बजेसम्म गुड्न दिइनेछ । सार्वजनिक र निजी निर्माणजन्य सामान बोकेका गाडी राति ९ बजेदेखि बिहान ५ बजेसम्म गुड्न सक्नेछन् ।
सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट आइटम र टेलरिङका पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
सुन पसल, भाँडा, भान्साजन्य सामग्री, विद्युतीय घरायसी सामान, अटोमोबाइल शोरुम/स्पेयर्स पार्ट्स, मोबाइल तथा कम्प्युटर पसल आइतबार, मंगलबार र बिहीबार ११ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्न पाइनेछ । हार्डवेयर, बिजुली, सेनिटरी, टायल, मार्बल, फर्निचर, कार्पेटलगायतका पसल बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न सकिनेछ ।
यसअघिको आदेशमा उल्लेखित खाद्यान्नलगायत दैनिक उपभोग्य भान्साजन्य पसल बिहान ११ बजेसम्म र अत्यावश्यक वस्तुको अनलाइन, टेक–अवे र होम डेलिभरी सेवा बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइने प्रावधानलाई निरन्तरता दिइएको छ । निजी चारपांग्रे सवारीसाधन (कार/जिप/भ्यान) मा ४ जनासम्म र ट्याक्सीमा ३ जनासम्म राख्न पाइने छ ।