राती खै किन हो निद्रा अलि राम्रोसँग लागेन । चारै तर्फ अग्ला पहाडको खोँच टुंगिनु खोलाको किनारमा रहेको यो वस्ती अन्य मौसममा सुन्दरताको उपमा पाए पनि वर्षादको समयमा केही संसय र भयपुर्ण रहन्छ । उसो त यो बस्ती विहेमा खाना पकाउन राखेको ठुलो तामाको ताउलो कै आकार हो कि झैँ नभएको कहाँ हो र ? चारै तर्फ पहाड बाहेक तालु माथिको आकाश मात्र देखिने । तथापि नितान्त गाउँले परिवेस रहन-सहन खानपान चाहिँ साँच्चिकै रमणीय नै हो । राजधानीबाटको दुरिलाई नापजाँच गर्दा समेत सुदुर त होइन नै त्यो देखिन्छ नै । साँच्चिकै असार-श्रावणमा पाकेको फल र काँचो मकैले गाला फुलेको जंगली बाँदरनी सुन्दरी झैँ ।
अस्ति राती देखिको अविरल बर्षा आज तीन दिन पूरा-पुर पुगि चौथो दिनमा पुग्दा सम्म ज्युँका त्युँ छ ।घर अगाडिको बतासे भिरबाट, दक्षिण तर्फको टुंगिनु र उत्तर पश्चिमको नाके भिरबाट समेत क्षण-क्षणमा ठुलो आवाज दिँदै ढुङ्गा माटो सहितको पहिरो खसेको खस्यै छ । यस्ले किनारको टुंगिनु नदीलाई हौसाएर होला नदी रिसाएको गोमन सर्प झैँ सुसाइ रहेको छ ।
चार दिन देखि अन्धकार यस बस्तीमा आकाशको गर्जनसंगै ठुलो आवाजका साथ चम्किने प्रकाशले अँध्यारोको प्यास मेट्ने प्रयास त गर्द्छ तर प्रयाप्त हुँदैन । बरु अत्यास त्यो आवाज र गर्जनले मनलाई अस्थिर बनाउँछ ।
अस्ति-अस्ति बिहानै उठेर घुम्न जाँदा मिठो स्वरमा गुन्जयमान गराउने न्याउर, ढुकुर, कोइलीको मिठो संगीत आज गुमनाम झैँ छ ।टोलबस्तिमा चिया र कफी अनि दुध र तरकारी लिएर आउने जाने मानिसको कोलाहलमय दिनचर्या शुन्य प्रायः छ ।
आज त अत्यास नै लागि सक्यो । बाहिर जाउँ पानीको वर्षा निरन्तर हावा हुरि सहित आइरहेको छ । अँझ क्षण-क्षणमा बिजुली सहितको चट्याङ्को ठुलो आवाज सुन्दा मन कता कता डराउन पुग्छ ।
झ्यालको पर्दा थोरै खोलेर वरपर नजर लगाउँछु ।किनारमा रहेको टुंगिनु खोला औधी बौलाएको देखिन्छ । पहिला झैँ आज त्यो शान्त मुद्रामा छैन । निर्मल सफा पनि छैन । क्रोध, रिसाहा- रौद्र मुद्राको देवी दुर्गाकै अवतारमा आफू वरपरका सबैलाई साथै डोराई लगिरहेको देखिन्छ ।
वरपरका वस्तीलाई उजाड बनाई जाँदा समेत किनार छेउँमा रहेको बैतर्नी धाम मन्दिरको ढोका छेउँको पुर्ण कदको हँसिमुख पवन पुत्र हनुमान एकनासले दुई हात जोडी उभिएकै देख्छु । मलाई आश्चर्य लाग्छ ।कोठामै रहेको म किन यति बिघ्न तर्सिएको होला ।पानीको बहावले हानी सक्दा सम्म कति नतर्सेको पवन पुत्र हनुमान । कति गहिरो शान्त भाव, कति धैर्यता, कति आत्मविश्वास ?
पर्दा बन्द गर्छु । अनि बिस्तारामा बसेर घोत्लन पुग्छु । साँच्चै मानिसले प्रकृति माथी ठुलो विजय प्राप्त गरेको छ । चन्द्रमा-अन्तरिक्षमा थुप्रै निलआर्मस्टङहरुलाई पुर्याउन सकियो । हिरोसिमा, नागासाकिमा लाखौँको एउटा चिहान निर्माण गर्न सकियो ! तर किन करोडौंलाई पिडा दिने आधा करोड जनतालाई चितामा पुर्याउने नाथे सानो कोभिडको भाइरसलाई परास्त गर्न सकिएन त ?कता हराए त विश्व मै धन र अस्त्रको घमण्ड गर्ने अमेरिकाहरु... ! अनि फेरि सोँच्छु यो सृष्टिको स्वभाविक चक्र हो कि ? माल्थसको पुरानो सिद्धान्तको पुनरावृत्ति हो कि ? एकक्षण अलमल हुन्छु ।
सन्त्रासका बिच सिरानी छेउँको रेडियोको स्विच अन गर्द्छु । बिहानको सात बजि सकेको रहेछ । रेडियोले भनी रहेको हुन्छ .."सिन्धुपाल्चोकमा मेलम्चीको पानीले सयौँ बस्ती बगायो, अरबौँको सम्पती बगायो, सयौँ ब्यक्ति बेपत्ता, मेलम्चीमा काम गर्ने सयौँ स्वदेशी सहित चिनियाँ र भारतीय नागरिक बेपत्ता, कतिपयलाई जिवित उद्धार, कतिको हेलिकप्टरबाट उद्धार । हिमाली जिल्ला, पहाडी जिल्ला र तराईमा समेत ठुलो धनजनको नोक्सानी । "केही दिन अँझै ठुलो बर्षाको सम्भावना रहेकोले उच्च सतर्कताका साथ रहन अपिल" झसङ्ग हुन्छु !अनि फेरि कल्पन पुग्छु; गत बर्ष मात्र हाम्रो गाउँमा गाउँपालिकाले ठारोभिरमा रहेको वस्तीकालागी छुट्याएको पाँच लाख रुपैयाँले अन्धाधुन्ध डोजर चलाउँदा तल्लो वस्तीमा पुर्याएको क्षति अनि संगैको रानी जरुवामा पुर्खा देखि पिउँदै आएको पानीको मुहान नै सुकेको कहालीलाग्दो घटना । अनि सोँच्दै जान्छु सल्लेरी वनमा लागेको आगोले ध्वस्त बनाएको सुन्दर बस्तीबाट निस्केको मानव जिवनको चीत्कार ।
प्रकृतिको यो बिनासले फेरि स्मरण गरायो संयुक्त राष्ट्र संघको पहलमा १९८३ मा नर्वेको तत्कालीन प्रधानमन्त्री ब्रुत्ल्यान्डको सम्योजकत्वमा गठन भएको समितिले पेश गरेको "हाम्रो साझा भविश्य" नामको प्रतिवेदन ।" अनि फेरि सम्झन्छु यसले विश्वलाई सुझाएका दिगो बिकासको खाका, "भावी पुस्तासङ्ग सम्झौता नगरी वर्तमानका आवश्यकता पूरा गर्ने विश्वव्यापी रोडम्याप" ।
अनि सम्झन्छु सन १९९२ को 'रियो द जेनेरियोको' ब्राजिल सम्मेलन, सन २००० मा संयुक्त राष्ट्र संघले ल्याएको सहस्राब्दी विकास लक्ष्य, अफ्रिकी मुलुकमा भएको दिगो बिकासका सम्बन्धमा आएको 3p( people, planet, prosperity)का नारा र सन २०१२ को ब्राजिलमा भएको Rio+20 ले हामिले चाहेको भविश्य नामक दस्तावेज र सो प्राप्तिका लागि विश्वले देखाएको चासो । उदेकलागेर आउँछ खोक्रो प्रतिबद्धता र मिठा नारामा लुकेको झुठो वास्तविकता ।
कता कता निरास भएझैँ हुन्छ । थकित शरीरले आराम खोजे झैँ लाग्छ अनि सिरानीको आडमा टाउको राख्छु झप्प आँखा लाग्छ । चिर निद्रामा छु - "अस्ति अस्ति झैँ बतासे भिरबाट चिसो बतास आउँछ, त्यसैको कापमा सुर्यको उज्यालो राप देखिन्छ ।
टुंगिनु खोला किनारमा रहेका उत्तिस, कतुस, सल्लाको हाँगाबाट न्याउर, कोहिली, ढुकुर लगायत चरिबरिको एकनासको मधुर संगीत गुन्जमान छ । अँझ त्यसमा खोलाको कञ्चन मसिनो स्वरले वातावरण थप मनोरम छ । अनि खोलाको किनार हुँदै पिठ्युँमा सुर्के झोला भिरी आमाको हातबाट भुटिएको बारीकै मकै र भटमास अनि काली भैँसिको महिका साथमा एक जोर लुगा राखी यात्रा मुग्लानको गर्दैछु । यो यात्रा भोको पेटको हो । "बहादुरले" सम्बोधन गरिने उपमाको हो।"
लेखक - गङ्गालाल योगी (योगी प्रभात)
लेखक ईलाका प्रशासन कार्यालय गोटिखेल ललितपुरमा कार्यालय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ