बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराको आयोजनामा संरक्षण पत्रकारिता सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय निकुञ्जका प्रतिनिधि र पत्रकारहरुको विचमा अन्तरक्रिया भएको थियो ।
कार्यक्रममा निकुञ्जले आफुले गरेका काम कर्तव्यका बारेमा आएका समस्या र समाधानको बिषयमा जानकारी दिएको थियो भने पत्रकारहरुले निकुञ्जले आफ्नो क्षेत्र भित्र सवारी साधनमा लागु गरेको टाइम कार्ड सिस्टमलाई अँझै प्रभावकारी रुपमा लागु गर्नुपर्ने सुझाव दिनुभएको थियो ।
त्यस्तै पत्रकारहरुले बाघ गणनामा निकुञ्जले प्रयोग गर्ने विधि-तरिका तथा प्रविधीको बारेमा जिज्ञासा राख्नुभएको थियो भने मानव वन्यजन्तु द्वन्द, न्यूनीकरण र व्यवस्थापन अभियानलाई दिगो-मजबुत र आम-धारणा परिवर्तन हुनेगरी पत्रकारहरुले कलम चलाइदिनुपर्ने निकुञ्जको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथी बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठ, अतिथिहरुमा देबिदत्त गणका गणपति दिनेश कार्की, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिती अध्यक्ष नेत्रराज आचार्य र बर्दिया जिल्लाका पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी श्रेष्ठले वन्यजन्तु संरक्षण प्रति सबैजनाको सम्मानजनक भावना हुनुपर्ने, मानव वन्यजन्तु द्वन्द न्यूनीकरण र ब्यवस्थापन अभियानलाई पत्रकारहरुले कलमबाट अगाडि बढाउनुपर्ने बताउनुभएको थियो ।
त्यस्तै अध्यक्ष आचार्यले पत्रकारहरु प्रकृति प्रेमी हुने भएकाले कुनैपनी कन्जुस्याइँ नगरीकन संरक्षणमा कलम चलाइरहेको र चलाइरहने बताउनुभयो ।
आचार्यले राष्ट्रिय निकुञ्ज जिल्लाको मुख्य चिनारी भएकोले यसलाई बिश्व सामु पुर्याउन पत्रकारहरुले महत्वपूर्ण भूमिका निभाउनुपर्ने बताउनुभयो । उहाँले मानव वन्यजन्तु द्वन्द न्यूनीकरण र व्यवस्थापनकालागी पत्रकारहरुले निरन्तर कलम चलाइरहेको बताउनुभयो ।