बर्दिया । गुलरिया नगरपालिकामा १ सय ५ घरपरिवारलाई खाद्यन्न समाग्री सोमबार वितरण गरिएको छ । रारा मानविय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरी बाँके) ले रोटरी क्लब अफ बर्दियाको समन्वयमा तथा गुलरिया नगरपालिकाको सहकार्यमा राहत वितरण गरेको छ ।
नगरपालिकाको वडा नं. ४,५,६,७ र ८ का गरि १०५ परिवारलाई प्रती घर ३५ किलो चामल, २ किलो दाल, २ लिटर तेल, २ किलो नुन, २ किलो चिनी लगायत ४ लाख ३८ हजार रकम बराबरको राहत वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रमका प्रमुख अतिथि तथा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले आफ्ना नगरवासीलाई खाद्यन्न समाग्रीको अभाव हुन नदिनको लागी विभिन्न संघसंस्था संग समन्वय गरि राहत वितरणका क्षेत्रमा कार्य गरिरहेको बताउनुभयो ।
रेरी बाँके तथा रोटरी क्लब अफ बर्दियाले गरेको राहत वितरण कार्यलाई धन्यवाद दिंदै नगरप्रमुख यादवले अगामी दिनमा थप राहतका कार्यक्रम गरी सहयोग गर्न अनुरोध गर्नु भएको छ ।
रेरी बाँकेका अध्यक्ष पुनित विक्रम शाहले लकडाउनका कारण कुनै पनि गरिब असहायहरुले भोक भोकै बस्नुपर्ने अवस्था नआओस् भन्ने उदेश्यले गुलरियामा राहत वितरण गरिएको बताउनुभयो ।
राहत वितरणको शिलशिला जारी रहेकाले दाङ, बाँके, कैलाली र सल्यानमा समेत वितरण गरिने अध्यक्ष शाहले बताउनुभयो । रेरी बाँकेले लामो समयदेखिको लकडाउनका कारण समस्यामा परेका अति गरिब, असहाय र अपांगता भएका ब्याक्तिहरुलाई लक्षित गरि राहत वितरण गरेको हो ।
कोभिड १९ का कारण विभिन्न पेशा, व्यवसाय धरासायी अवस्थामा पुगेको र नागरिकहरु रोजगार विहिन अवस्थामा रहेकाले गुलरिया नगरपालिकाका केही वडामा बसोवास गर्ने अतिविपन्न परिवारलाई राहत प्रदान गरिएको रोटरी क्लब अफ बर्दियाका प्रेसिडेन्ट सुद्धांशु प्रकाश शर्माले बताउनुभयो ।
रोजगारी गुमेको अवस्थामा घरपरिवार पाल्न समास्या परेका बेला संस्थाले गरेको सहयोगले आफुलाई खुशि बनाएको राहत वितरणमा सहभागी भएका गुलरिया नगरपालिका वडा नं. ६ का आकाश अधिकारीले प्रतिक्रिया दिनुभयो ।
उक्त राहत वितरण कार्यक्रम नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रतिनिधी लागयतको उपस्थितीमा सम्पन्न भएको थियो ।