लन्डन । प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गैरआवासीय नेपाली पत्रकार महासंघको गठन गरिएको छ ।
भर्चुअल माध्यमबाट बुधबार बसेको पत्रकारहरुको उक्त भेलाले महासंघ गठन गर्ने निर्णय गरेको हो । महासंघले ८४ मुलुकहरुमा फैलिएको प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) संग सहकार्य गर्ने तर नेपाल सरकारले तोकेको 'गैरआवासीय नेपाली' को परिभाषा महासंघमा लागू नहुने जनाएको छ ।
महासंघले नेपाल बाहिर भारत लगायतका मुलुकहरुमा क्रियाशील नेपाली तथा नेपाली मूलका पत्रकारहरुलाई पनि समेट्ने गरी आउंदो ९० दिन भित्र संघको विधान बनाइने र त्यसको १८० दिन भित्र नयां कार्य समिति गठन गरिसक्ने जनाएको छ। महासंघका राष्ट्रिय शाखाहरु भने तत्काल गठन गरिने छन् ।
महासंघको अध्यक्षमा बीबीसीका पूर्व पत्रकार भगीरथ योगी (यूके) रहेका छन् भने वरिष्ठ उपाध्यक्षमा तोया दाहाल (अमेरिका) रहेका छन् । त्यस्तै उपाध्यक्षमा श्याम लुइँटेल (यूके), महासचिवमा कृष्ण केसी (अमेरिका) रहेका छन्। यसै गरी सचिवहरूमा अनिल अधिकारी (अमेरिका), छत्र शंकर (अष्ट्रेलिया), खगराज गौतम (जापान), अनुजा बुढाथोकी (साउदी अरेबिया) र सहकोषाध्यक्ष महेश खाती (डेनमार्क) रहेका छन् ।
त्यस्तै सल्लाहकारहरुमा डा. भरत राज पौडेल (अस्ट्रेलिया) तथा डा. जगन अधिकारी (यूके) रहेका छन् । जुन देशमा महासंघ दर्ता हुन्छ, त्यही देशबाट कोषाध्यक्ष मनोनयन गरिने छ। गैरआवासीय नेपाली पत्रकार महासंघ नेपाल बाहिर बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया या युरोपका कुनै एक देशमा दर्ता गरिने जनाइएको छ ।
"गएको एक दशकमा नेपाल बाहिर नेपाली अनलाइन पोर्टल लगायतका संचारमाध्यमहरुको उल्लेख्य वृद्धि भएको छ । तर तिनको दीगोपना र गुणस्तरमा समस्या देखिएको छ । त्यस्तै प्रवासमा क्रियाशील सबै पत्रकारहरुलाई मान्य हुने गरी आचार संहिताको विकास गर्नु पर्ने आवश्यकता पनि देखिएको छ," महासंघका संस्थापक अध्यक्ष योगीले भने । "त्यसैले अमेरिका, युरोप, अस्ट्रेलिया लगायतका मुलुकमा क्रियाशील नेपाली पत्रकारहरुका संस्थाहरुसंग सहकार्य गरी प्रवासमा नेपाली पत्रकारितालाई अरु बढी गरिमापूर्ण र व्यावसायिक बनाउन महासंघ गठन गरिएको हो ।"
त्यसै गरी संस्थापक महासचिव कृष्ण केसीले गैरआवासीय नेपाली संघसंग आफुहरुले सहकार्य गर्दै अगाडी बढ्ने बताए । “एनआरएनएका रचनात्मक कामहरुको समर्थन गर्ने र गलत प्रवृत्ति विरुद्ध खबरदारी गर्ने काम हामीले गर्ने छौं," उनले भने । उनले कुनै पनि संघसंस्थासंग प्रतिस्पर्द्धा गर्न नभै सहकार्य गर्न आफुहरु अगाडी आएको बताए ।
महासंघले विदेशमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने, सञ्चार क्षेत्रको विकासका लागि नेपालमा रहेका पत्रकारितासंग सम्बन्धित संघसंस्थासंग सहकार्य गर्ने, प्रवासमा नेपाली भाषा, कला, संस्कृति र नेपाली पहिचानको प्रवर्द्धनका लागि काम गर्ने जनाएको छ ।
त्यस्तै लोकतन्त्र, मानव अधिकार तथा प्रेस स्वतन्त्रताको प्रतिरक्षाका साथै पत्रकारिता तथा सञ्चार क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संगठन तथा संघ संस्थासँग सहकार्य गर्दै अघि बढ्ने पनि महासंघले जनाएको छ ।
महासंघमा प्रवासमा क्रियाशील पत्रकारहरु सदस्य बन्न सक्ने छन् भने पत्रकारहरुका संघ संस्था एसोसियट सदस्य बन्न सक्ने छन्। त्यस्तै महासंघले मानार्थ सदस्यता पनि दिन सक्ने छ ।
संघका शाखा खुलेका हरेक मुलुकमा राष्ट्रिय संयोजक रहने छन्। राष्ट्रिय संयोजकको नेतृत्वमा सदस्य संख्याका आधारमा एउटा बिजोर संख्या रहनेगरी कार्यसमिति गठन हुनेछ। राष्ट्रिय संयोजक स्वत: केन्द्रिय सदस्य हुनेछन्। बीचमा खालि हुन आएका पदमा त्यो भन्दा तल्लो तहकाले स्वत: पदोन्नति पाउने छन् ।
महासंघको नेतृत्व चयन रोल मोडलका रुपमा अघि बढाइने, हरेक २३ महिना २९ दिन अर्थात २४ महिना पुग्नु एक दिन अगाडी सो पदमा एक तह मुनिका पदीय ब्यक्ति स्वत: पदस्थापन हुने प्रस्ताव गरिएको छ ।
नेपाली संस्थाहरुमा निर्वाचनका क्रममा देखिएको गुटबन्दी तथा विकृति हटाउन नेतृत्वको क्रमशः विकास गरी नमुना संस्थाको रुपमा विकास गर्ने लक्ष्य लिएको पनि महासंघले जनाएको छ ।