२००७ साल यता भएका महत्वपूर्ण आन्दोलन/क्रान्तिले १०८ बर्षको जहानिया राणा शासन, झन्डै ३० बर्षीय पंचायत व्यवस्था र सयौँ बर्ष देखि रहेको राजतन्त्रको अन्त्य भएको छ । यी क्रान्तिका नाममा हजारौ नेपाली सपुतहरुले वीरगती प्राप्त गरेर ततकालिन शासन को अन्त्य भै संघीय लोकतान्त्रिक व्यवस्थामा पुगिसक्दा समेत स्थिर राजनैतिक व्यवस्था सहित सुशासन कायम हुन नसक्नु दुखद छ । तत् समयमा बिकासका बाधकका रुपमा लिएका उपरोक्त व्यवस्था अन्त भै सकेको अवस्थामा समेत राष्ट्रले सहि दिशा लिन नसक्नुको कारण के हो त आम नागरिक नै अन्योलमा रहेको देखिन्छ ।
त्यसको उपयुक्त जवाफ न क्रान्तिको ज्वाला बाल्न उत्साहित गर्ने राजनैतिक दल र त्यसका नेतृत्वले न अन्य पक्षले नै दिन सकेको पाइन्छ । पटक पटकका आन्दोलनबाट स्थापित व्यवस्थामा समेत मुलुकले सहि राजनैतिक संस्कार सहित सुशासन दिन नसक्नुको खास कारण के हो त ? किन हामी सधै अरुकै इसारामा चल्ने गोटी बनेका छौ त ? किन हामी आज प्रयन्त कागजमा मात्र सार्वभौम हुन पुगेका छौ ? किन हामी नेपालीजनको सार्वभौम अधिकारको मुल्य भएन त ? अबको सुशासन, विकास र सम्वृद्धिको बाधक को हो त ? हाम्रो वर्तमान संविधान र आमबुझाइमा समेत अबको गन्तब्य सम्बृद्ध नेपाल, स्थिर राजनैतिक प्रणाली र सुशासन रहेको होइन र ? यथार्थमा भोलिका दिनमा फेरी कुनै शासन प्रणालीका विरुद्ध क्रान्ति गर्न नपर्ने चहाना होइन र ? प्रश्न गम्भीर रहेको छ ।
यसमा कुनै एक पक्षको मात्र कमजोरी नभै समग्र शासकीय अंगको कमजोरी हो कि जस्तो देखिन्छ । र त्यसमा राजनैतिक नेतृत्वको पल्लामा केहि बढी भार देखिए पनि समग्रमा राज्य भित्रका सबै तप्का समुह र आमनागरिक समेत जिम्मेवार देखिन्छ । र जिम्मेवार सबैले यसको जिम्मेवारीको बोध गर्नैपर्छ । र सोका लागि नागरिक शिक्षा र कर्तब्यका साथ आफुलाई सदैब जिम्मेवार नागरिकका रुपमा प्रस्तुत गर्न सक्नुपर्छ ।
सम्बृद्धिको आधार सुशासन हो । सुशासनका लागि आवश्यक अवयव(कम्पोनेन्ट)लोकतान्त्रिक व्यवस्था, कानुनको शासन,पारदर्शिता,भ्रष्टाचार रहित प्रशासन, आवधिक निर्वाचन, शक्ति सन्तुलन र पृथकीकरण र शिक्षित नागरिक समाज । त्यसैले आत्म अनुशासित, जिम्मेवार शिक्षित नागरिक समाज सुशासनको महत्वपूर्ण पुँजी हो भनि कुशल नेतृत्व राष्ट्र रुपी गाडीको ड्राइभर हो । अत नेतृत्वको कौसल्तामा राष्ट्रको भविष्य रहेको हुन्छ ।किन भने राज्यका सबै नीतिको मुहान राजनीति हो । त्यसैले नीतिको सोपानमा राजनीति सबैभन्दा माथि रहेको हुन्छ । त्यसैले त यसलाई राज-निती भनिएको हो । यसको निर्माण संचालन राजनैतिक नेतृत्वकर्ताबाट हुने गर्दछ ।
लोकतान्त्रिक मुलुकमा नेतृत्वकर्तालाई सत्तामा राख्ने वा हटाउने निर्णायक शक्ति सार्वभौम जनतामा रहन्छ । नागरिक सार्वभौम राष्ट्रका निर्णायक शक्ति हुन् । यो सार्वभौम शक्तिको प्रयोग मतदान मार्फत आफ्ना प्रिय राजनैतिक दल र सो का नेतृत्व कर्तालाई गोप्य मतदान मार्फत ब्यक्त गर्ने र उनै जनप्रतिनिधिले जनचाहाना, जनभावनालाई आत्म साथ गरि शासन संचालन गर्नेगर्दछन । र त्यस विपरित हुन गएमा निर्वाचन मार्फत दण्ड स्वरूप पराजित गराउन सक्ने असिम अधिकार रहेको हुन्छ । त्यसैले सबै राजनैतिक दलको राजनैतिक लेखापरीक्षण निर्वाचनका समयमा जनमतबाट हुने गर्दछ । प्रजातान्त्रिक प्रणालीको यो सुन्दर पक्ष पनि हो । त्यसैले विश्वमै सबै भन्दा रुचाइएको लोकतान्त्रि व्यवस्थालाई संस्थागत गर्ने बिषयमा सबै भन्दा बढी जिम्मेवारी नागरिकमा नै रहेको हुन्छ ।
आज ठुलाठुला क्रान्ति र राजनैतिक परिवर्तन हुँदा समेत देश सहि दिशामा जान नसक्नुमा अमुक दल र त्यसका नेतृत्वकर्ता मात्र जिम्मेवार छैनन् ती दल प्रति लम्पट हुने आम कार्यकर्ता पनि उत्तिकै जिम्मेवार रहेका छन् । गलतलाई गलत सहिलाई सहि भन्ने साहस नभएका पानीमरुवा आम बुद्धिजीवी पनि सोका लागि जिम्मेवार रहेका छन् । यी सबै पृष्ठ भूमिलाई केलाउदा देखिएको कमजोरी भनेको हाम्रो आत्मअनुशासन र नागरिक शिक्षा नै हो । विश्वमा जहा नागरिक अनुशासन र नागरिक शिक्षा उच्च रहेको छ त्यस्ता मुलुकले छोटो समयमा नै सुशासनको मार्गमा पुग्न सकेको पाइन्छ । सुशासनका लागी आवश्यक अन्य अवयव कानुनि शासन, सक्षम कर्मचारी प्रशासन, स्थिर राजनैतिक व्यवस्था, लोकतान्त्रिक शासन लगायतका अतिरिक्त सचेत नागरिक समाज समेत शुसासनका लागि आवश्यक रहन्छ । र संस्कार युक्त आत्म अनुशासित नागरिक निर्माण गर्ने, नागरिक शिक्षा प्रदान गर्ने मुख्य दायित्व राष्ट्रिय शिक्षा नीतिको हो ।
तर आज हाम्रो शिक्षा नीतिले आफ्नो पाठ्यक्रममा यी बिषयलाई यथोचित ध्यान दिन नसक्दा हाम्रा पाठशाला अमुक दलका लम्पट कार्यकर्ता उत्पादन गर्ने कारखानाका रुपमा स्थापित हुन गएको पाइन्छ । यसबाट प्राप्त राजनैतिक उपलब्धि संस्थागत गर्न नसकिएकाले व्यवस्था प्रति नै एक किसिमको निरासा देखिन्छ । त्यसैले अबको हाम्रो शिक्षा नीतिले व्यक्तिलाई आफ्नै खुट्टामा उभिन सक्ने व्यवहारिक शिक्षाका अतिरिक्त राष्ट्र भक्ति जगाउने नागरिक शिक्षा दिन आवश्यक छ । आजको शिक्षा प्रणालीले न त हक अधिकारको बोध गराउन सकेको पाइन्छ न त कर्तव्यको ज्ञान ।
नागरिक शिक्षाको अभावमा राज्यका सबै अंग बेलगाम हुन गएको देखिन्छ । नागरिक शिक्षाले अधिकार र कर्तव्यको बोध हुन जान्छ । यो ब्यक्ति, परिवार, समाज र राष्ट्रका लागि आवश्यक रहन्छ । यसले व्यक्तिलाई स्वअनुशासनमा राख्ने, भ्रष्ट मनोवृति अन्त गर्ने गर्छ, राष्ट्र प्रेमको भाव जगाउछ, कानुनको पालना गर्ने गराउने गर्दछ, सार्वजनिक सम्पति प्रतिको माया जगाउछ, राजनैतिक नेतृत्वलाई निर्वाचन मार्फत दण्डित गरि सहि दिशा बोध गराउछ । राष्ट्रलाई आवश्यक परेको बेला बलिदानीका लागि प्रेरित गर्दछ । सार्वजनिक सेवाका लागी सबैमा प्रेरणा भर्ने गर्दछ । लोकतान्त्रिक प्रणालीलाई सुदृढ गराउन मदत गर्दछ ।
नागरिक शिक्षा विद्यालयको औपचारिक शिक्षाका अतिरिक्त घर, परिवार, समाज र राजनैतिक दल मार्फत अनौपचारिक शिक्षाका रुपमा समेत दिन सकिन्छ । यसले व्यक्तिलाई स्वअनुशासित बनाउने, राष्ट्र भक्ति जगाउने गर्छ भने परिवारलाई सुसंस्कारिक बनाउने गर्छ । यसले समाजलाई अनुशासित बनाउने,कानुनि शासनको मार्गमा हिडाउने, समतामुलक समाजको निर्माण गर्ने, अपराध मुक्त समाज निर्माण गर्ने, सामाजिक सदभाव कायम राख्ने र राष्ट्र प्रति समर्पित नागरिक निर्माण गर्ने, सार्वजनिक सेवाका लागि कटिबद्ध नागरिक निर्माण गर्दछ । असल नागरिक शिक्षाले विकृत राजनैतिक प्रणालीलाई निर्वाचनका माध्यमबाट दण्ड दिएर सुधारको मार्गमा हिडाउने गर्दछ ।
यसले स्वार्थी, व्यक्तिवादी दलगत राजनैतिक प्रणालीलाई सुधार गरि सम्पूर्ण राष्ट्र र जनता प्रति प्रतिबद्ध शासन प्रणालीको मार्गमा हिडाउन मदत गर्दछ । राष्ट्रिय झण्डा भन्दा दलको ब्यानर र झन्डामा गर्व गर्ने, राष्ट्रिय स्वार्थ भन्दा अमुक दलको स्वार्थमा रमाउने आजका स्वार्थी लम्पट कार्यकर्तालाई राष्ट्र प्रेम जागृत गराउन मदत् गर्दछ । कानुनि राज्यको मान्यता एंव संवैधानिक सर्वोच्चतालाई आत्मसाथ गर्दछ । त्यसैले चेतनशील सचेत नागरिको रुपमा आफ्नो भूमिका देखाउन नागरिक शिक्षा आवश्यक रहेको छ । सोका लागि औपचारिक र अनौपचारी नागरिक शिक्षा दिनु आजको आवश्यकता देखिन्छ ।
लेखक - गङ्गालाल योगी (योगी प्रभात)
लेखक ईलाका प्रशासन कार्यालय गोटिखेल ललितपुरमा कार्यालय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ