काठमाडौँ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच घुस लेनदेनबारेको अडियो सार्वजनिक भएको छ ।
व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन भएको घुस लेनदेनबारेको अडियो मंगलबार साँझ सार्वजनिक भएको थियो ।
न्यायाधीश वकिलबीच भएको उक्त संवादबारे आवश्यक कदम उठाउन भन्दै कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो १ बजे न्यायापरिषद्को बैठक बोलाउनुभएको छ ।
न्यूज २४ टिभीले सार्वजनिक गरेको उक्त अडियोमा तामाङलाई १० करोड धरौटी लिएर छुटाउँदा २ करोड रुपैयाँ आउने भन्दै अधिवक्ता रुद्र पोखरेल र न्यायाधीश राजकुमार कोइरालाबिच कुराकानी भएको सुन्न सकिन्छ ।
अडियोमा अधिवक्ता रुद्र पोखरेलले न्यायाधीश राजकुमार कोइरालालाई भन्नुहुन्छ, "१० करोड धरौटी लिएर छोड्दा हुन्छ, बाँकि आउने कुरा म मिलाउँछु, २ आउँछ ।"
उक्त कुराकानीमा न्यायाधीश कोइरालाले आफू तयार रहेको तर माथिल्लो निकायबाट पनि संकेत आउनुपर्ने कुरा उल्लेख गर्नुभएको छ ।
अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गर्नुभएको छ ।
यो अडियो सार्वजनिक भएपछि काठमाडौं जिल्ला अदालतले न्यायाधीश कोइरालालाई बुधबार कुनैपनि इजलास नतोकेको बताइएको छ ।