दाङ । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश समितिले कोरोना भाइरस संक्रमणको दोस्रो भेरियन्ट देखिएका बेला अक्सिजन सिलिन्डरको व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
बुधवार दाङको देउखुरीमा नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको तेस्रो कार्यकारिणी बैठकमा बोल्दै शर्माले भन्नुभयो, "प्रदेश र केन्द्र सरकार संग कोभिड खोपको लागि निरन्तर पहल गरिरहेका छौ, व्यावसायिको पिरमर्कालाई बुझ्दै अझै उहाँहरुको पक्षका काम गर्न बाकी छ ।"
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य चक्रबहादुर अधिकारीले सरकारले अभिलम्ब भ्याक्सिन उपलब्ध गराउनुपर्ने, लकडाउनको अवधिको बैंक ब्याज पूर्णरूपमा छुट हुनुपर्ने, राजश्व बुझाउने समय ३ महिना थप गरिनुपर्ने माग राख्नुभयो ।
सरकारले २० लाख सम्मको व्यवसायीक करमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । यस्तै ५० लाख सम्मको करमा ७० प्रतिशत छुट दिने बताएको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य जम्शेर अलिले सरकारलाई कोभिड भ्याक्सिन उपलब्ध गराउन निजि क्षेत्रबाट दवाव सृजना गर्नुपर्ने बताउनु भयो ।
गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा, निवर्तमान अध्यक्ष रविलाल आचार्यले स्थानीय सरकारले व्यवसायीलाई अनावश्यक कर थुपरेको गुनासो गर्नुभयो ।
देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनाल, उपाध्यक्ष केशवराज पोख्रेल, सदस्य नुमाकान्त बोहोराले सामाजिक उत्तरदायीत्व अन्तरगत पनि उद्योग बाणिज्य संघले आफ्नो क्षेत्र भित्रका कोभिड अस्पतालमा अक्सिजन उपलब्ध गराउन दिनरात खटिएको अनुभव सुनाउनु भयो । तर, सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न अझैं आवश्यक रहेको सुझाव समेत दिइएको छ ।
जिम्मेवारी वाडफाँड
नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको लमहीमा सम्पन्न तेस्रो बैठकले विभिन्न जिम्मेवारी वाडफाँड गरेको छ । अनुसासन समितिको संयोजकमा गुणनिधि तिवारी, जिल्ला नगर परिषदको संयोजकमा बालकृष्ण सुवेदी, उद्योग परिषद समिति संयोजकमा दिपक पौडेल, स्टल आयातात तथा पारवहन रत्नप्रसाद श्रेष्ठलाई जिम्मेवारी दिने निर्णय गरेको कार्यकारी निर्देशक कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।
तस्बिर- शिवराज खनाल


